समाज

दाङको गढवामा नयाँ सहर, खुसी यसरी निराशामा बद्लिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १७:३१
दाङको गढवामा नयाँ सहर, खुसी यसरी निराशामा बद्लिँदै (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ दाङ । दाङको गढवा गाउँपालिकामा नयाँ शहर कार्यक्रम लागू भएको २ वर्ष पूरा भएको छ । तर यो अवधिमा नयाँ शहरको अनुभूति हुने गरी उल्लेखनीय काम भने हुन सकेको छैन ।

नयाँ शहर कार्यक्रममा दाङको गढवा गाउँपालिका प्रस्तावित हुँदा स्थानीयस्तरमा खुसियाली छाएको थियो तर अचेल शहर बनाउने विषय ओझेलमा परेको छ । कहिले नयाँ शहरको अनुभूति गरौंला भन्ने पर्खाइमा रहेका गढवाका बासिन्दा समयमै काम सम्पन्न नहुँदा निरास छन । छिटो काम गर्न उनीहरूको माग छ ।

नयाँ शहर बनाउने अभियानको शुरुमा सडक पूर्वाधारमा लगानी केन्द्रित गरिएको थियो । अहिले पनि सडक पूर्वाधारका योजना पूरा हुन सकेका छैनन् । वडा नम्बर १ को जुरौनी चिसापानी हुँदै धानखोला जोड्ने सडक निर्माणाधीन छ । वडा नम्बर ५ को लोखरपुर, लालपुर हुँदै धरमपुर जोड्ने सडक पनि बनिरहेको छ ।

यी दुवै सडक र आयोजना सँग जोडिएको पूर्वाधारका लागि यो वर्ष जम्मा १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । बहुवर्षीय योजना अनुसार सडकको काम अघि बढेको छ । १० वर्षे योजना रहेको नयाँ शहरको अवधारणा अनुरुप २ बर्ष बितिसक्दा पनि फाटफुट सडकका काम बाहेक अन्य काम हुन सकेको छैन ।

नयाँ शहरको अवधारणामा सडक निर्माण, स्टेडियम, ड्रिम पार्क, सामुदायिक भवनहरु, बहुउद्धेश्यीय सभाहल लगायतका संरचना पर्दछन । नयाँ शहर अन्तर्गतको कामले गति लिन नसकेको गाउँपालिकाले पनि स्विकार गरेको छ । राजनीतिक खिचातानीले नै नयाँ शहरको अवधारणाले गति लिन नसकेको गाउँपालिकाको प्रष्टिकरण छ ।

सरकारले देशभरी गरेर ५० वटा नयाँ शहर बनाउने योजना बनाएको छ । एउटा शहर बनाउन १५ अर्व रुपैयाँ लाग्ने अनुमान छ । ५ अबै सरकारी क्षेत्र र १० अर्ब निजी क्षेत्रबाट लगानी हुने अनुमान गरिएको थियो । तर यो कार्यक्रम सरकारको प्राथामिकतामा नपर्दा बजेट अभाव हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *