राजनीति

सर्वदलीय बैठकमा चुनावी सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास, प्रचण्डसहितका नेताले जनाए आपत्ति

हिमालय टिभी
२०७७ चैत ३ गते १९:०७
सर्वदलीय बैठकमा चुनावी सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास, प्रचण्डसहितका नेताले जनाए आपत्ति

३ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जान प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री ओलीले संसदबाट अब नयाँ सरकार बन्न नसक्ने भन्दै सहमतिमै चुनावमा जान प्रस्ताव गर्नुभएको हो । सहभागी अन्य दलले भने प्रधानमन्त्रीको प्रस्तावको तत्कालै प्रतिवाद गरेका थिए ।

उनीहरुले शीतल निवास राजनीतिक छलफल गर्ने थलो नभएको भन्दै आपत्ति जनाएका हुन् । राष्ट्रपति भण्डारीले कोरोना संक्रमण, लिम्पियाधुरासहितको नक्सा पारितजस्ता विषय उठाउँदै बैठक शुरुवात गर्नुभएको थियो ।

राष्ट्रपतिले लोकतन्त्रमा चुनाव नै सबैभन्दा महत्वपूर्ण हुने तर आफु सरकारको सिफारिसमा मात्रै अघि बढ्ने टिप्पणी पनि गर्नुभएको थियो । शुरुवातमा तर अन्य दलले त्यसलाई गम्भीरतापूर्वक लिएनन् ।

राष्ट्रपतिपछि बोलेका प्रधानमन्त्री ओलीले भने अब संसद पनि चल्न सक्ने अवस्था नदेखिएको भन्दै सहमतिमै चुनावमा जानुपर्ने बताएपछि बैठक तातिएको राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

१ मिनेट मात्रै बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले संसदबाटै समाधान खोज्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठले राजनीति कसरी अघि बढ्ने भन्ने विषय शीतल निवासमा छलफल गर्न आवस्यक नभएको कडा टिप्पणी गर्नुभयो ।

राप्रपा अध्यक्ष लोहनीले पनि प्रधानमन्त्रीले संसदको विश्वास जित्नुपर्ने धारणा राख्नुभयो । सबै दलले राजनीतिक विषयमा छलफल आवस्यक नभएको भन्दै प्रतिवाद गरेपछि बैठक कुनै ठोस निष्कर्ष बिना नै सकिएको छ ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला राष्ट्रपतिले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । अध्यक्ष लोहनीले फेरि चुनावमा जान दलहरुको सहमति लिने प्रयासका लागि यो बैठक बोलाएको जस्तो देखिएको टिप्पणी गर्नुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि र पूर्व प्रधानमन्त्रीलाई बोलाइएको थियो । तर तीन जना पुर्व प्रधानमन्त्रीले भने बैठक बहिष्कार गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई बैठकमा अनुपस्थित हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्