गुल्मीको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणले गति लिँदै (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ गुल्मी । गुल्मीको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माण कार्यले गति लिन थालेको छ । पछिल्लो समय विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माण भइरहेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र गतिमा अगाडी बढेका छन् । विमानस्थलको घेरावारको काम पूरा भइसकेको छ । ९१ लाख रुपैयाँमा घेरावारको काम मौसम हरिष निर्माण सेवा डोल्पाले पूरा गरेको हो । विमानस्थलको आगामी दशैंसम्म सम्पूर्ण काम सम्पन्न गर्ने गरि काम अगाडी बढेको छ ।
टर्मिनल भवन निर्माणका लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । व्यवसायीले २०७८ असोज अन्तिममा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने छ ।
त्यस्तै धावन मार्ग निर्माणको काम रौताहा हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको छ । धावन मार्गको कालोपत्रे गर्ने कार्य गत कात्तिकसम्ममा काम सम्पन्न नभएका कारण जेठसम्मका लागि म्याद थप भएको छ ।
कामको गति हेर्दा अगामी २०७८ साल जेठसम्म धावन मार्ग कालोपत्रे सकिने र मंसिरसम्म टर्मिनल भवन निर्माण कार्यसम्पन्न भएर पुनःपरीक्षण उडान गर्ने लक्ष्य छ ।
२०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास भए पनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग रहेको छ । कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ ।
प्रतिक्रिया