समाज

पोखरा अस्पतालको स्तरोन्नति कागजमै सीमित, शैया नहुँदा उपचारमा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते ६:०७
पोखरा अस्पतालको स्तरोन्नति कागजमै सीमित, शैया नहुँदा उपचारमा समस्या (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ पोखरा । स्तरोन्नति भए पनि गण्डकी प्रदेशकै ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शैया भने थपिएको छैन । २०६९ सालमा सरकारले अस्पताललाई ३ सय बाट बढाएर ५ सय शैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

अस्पताललाई केन्द्रमा राखेर सरकारले २०७२ सालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायो । तर कागजमा अस्पतालको स्तरोन्नति भए पनि शैया भने थपिएन । अस्पताल प्रसासन भने एक हजार शैया क्षमताको बनाउने सोंचमा रहेको बताइरहेको छ ।

२०६९ सालमा स्तरोन्नति भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ वर्षपछि पनि शैय्या भने जहाँको त्यही नै छ । कागजमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ५०० शैय्याको छ । तर, फिल्डमा भने स्तरोन्नति गरिएयता ७० शैय्या मात्र थपिएको छ । पुराना भौतिक संरचनाको भरमा संचालन हुँदै आएको अस्पताल नयाँ भवन नहुँदा शैया थप गर्ने निर्णय कार्यान्वयन हुन नसकेको अस्पताल प्रशासन बताउँछ ।

प्रतिष्ठानको ऐनअनुसार सिनेट बैठकले निर्णय गरेर अस्पतालको शैय्या थप्न सक्छ । यही आर्थिक वर्षमा अस्पताल पाँच सय शैय्या सञ्चालनमा आउने अस्पतालको दाबी छ । ५ सय शैय्या सञ्चालन गर्न नसकिरहेको प्रतिष्ठानले साढे २ वर्षभित्र ७ सय शैय्या पुर्‍याउने दाबी गरिरहेको छ ।

करिब ३२ करोड रुपैयाँको लागतमा प्रसुति तथा बाल उपचार गर्ने भवन यो आर्थिक वर्षभित्रै सञ्चालनमा आउन लागेको प्रतिष्ठानले जनाएको छ । सहरी विकास मन्त्रालयले अस्पतालमा नयाँ भवन थप्न र रेक्ट्रोफिटिङ गर्न ७२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यही बजेटबाट ४ वटा नयाँ भवन र अस्पतालको रेक्ट्रो फिटिङ गर्न ५४ करोड रुपैयाँमा गत असार २८ गते नै निर्माण सम्झौता भएको छ । अस्पतालका १० वटा पुराना भवनको रेक्ट्रोफिटिङ हुने क्रममा छ ।

अस्पतालको विकासका लागि अत्यन्तै महत्वपूर्ण मानिएका भौतिक संरचना शहरी विकास मन्त्रालयले निर्माण गरिरहेको छ । राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको निरीक्षण गरी तोकिएको समयमै काम सक्न निर्देशन दिनुभयो ।

प्रतिष्ठानमा भूकम्प प्राधिकरणमार्फत अर्को मेडिकल भवन निर्माण भइरहेको छ । २ वर्ष भित्र अस्पतालमा करिब १ अर्ब बराबरका भौतिक संरचना निर्माण सम्पन्न हुने अस्पताल प्रशासनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *