आर्थिक

जापानबाट फर्किएर भैँसी पालनमा लागेका प्रदीप, जसले कृषि कर्ममै देखेका छन् भविष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २ गते १६:५२
जापानबाट फर्किएर भैँसी पालनमा लागेका प्रदीप, जसले कृषि कर्ममै देखेका छन् भविष्य (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ बागलुङ । देशमा रोजगारीको लागि राम्रो वातावरण नभएको भन्दै दैनिक रूपमा युवा विदेश गइरहेको समयमा बागलुङका एक जना युवाले भने फरक बाटो अपनाएका छन् । जापानमा ८ वर्ष सिकेको सीपलाई स्वदेशमै प्रयोग गरेर एक युवाले उदाहरणीय कामको थालनी गरेका हुन् ।

देशमा राम्रो रोजगार नभएको भन्दै पढाइ र रोजगारीका लागि जापान गएर ८ वर्ष बिताएका बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मका ३० वर्षीय प्रदीप केसी भैंसी पालन व्यवसायमा लाग्नु भएको छ । २०७४ मा गलकोट पशु विकास फार्म दर्ता गरेर २ वटा भैंसीबाट व्यवसाय शुरू गरेका केसीसँग अहिले १५ वटा भैंसी छन् । केसीले अहिले दैनिक ८० लिटर दूध बेचेर राम्रो आम्दानी गरिरहनु भएको छ ।

पशु विकास फार्मको पूर्वाधार तयार गर्दा ५० लाख रुपैयाँ लगानी गरिसकेका प्रदीप केसीले कृषि कर्ममै आफ्नो भविष्य देखिसक्नु भएको छ । अनि आफ्नो काम र आम्दानीबाट सन्तुष्ट देखिनु भएको छ ।

सरकारले कृषि कर्म गरिरहेलाई आर्थिक अनुदान र सहयोग गर्ने नीति बनाएको छ । तर त्यो अनुदान र सहयोग वास्तविक किसानसम्म नपुगेको गुनासो आउने गरेको छ । आफ्नै लगानीमा व्यवसाय गरिरहेका प्रदीपलाई पनि सरकारले बनाइरहेको नीति र किसानबीच तालमेल नभएको लागिरहेको छ ।

गाउँघरमा उद्योगमा लागेका कृषि कर्ममा लागेका युवा व्यवसायीलाई सहुलियत दरमा सहकारीमार्फत ऋण प्रवाह भइरहेका छन् । सहकारीले कृषिमा लाग्ने युवालाई उत्प्रेरित गरिरहेको छ ।

कृषि पेशामा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । युवालाई पेसामा टिकाइराख्न स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम र उत्पादनको बजारीकरणमा जोड दिनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *