समाज

लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रले पायो स्वरुप‍, फिनिसिङको काम अघि बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २ गते १६:४४
लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रले पायो स्वरुप‍, फिनिसिङको काम अघि बढ्दै (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ रुपन्देही । लुम्बिनीमा २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण थालिएको अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको पहिलो चरणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सभाहल निर्माण सम्पन्न गर्ने घोषणा गरेको २ वर्षपछि शिलान्याश भएको थियो । अहिले दोश्रो चरणमा मुख्य सभा हलको फिनिसिङ्गको काम भइरहेको छ ।

लुम्बिनीमा २०७३ सालको २५६० औं बुद्धजयन्ती चल्दै थियो । त्यही बेला ठुलो हावाहुरी र झरीले कार्यक्रम स्थल भत्कायो । त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र बनाउने घोषणा गर्नुभयो ।

ओलीले २ वर्षभित्र सभा हल निर्माण गर्ने र बुद्ध जयन्ती मनाउने घोषणा गर्नु भएको थियो । तर सभाहल निर्माणको लागि परामर्शदाता छनोट, डिजाईन, लागत अनुमान र ठेक्का प्रक्रियामै दुई वर्ष बित्यो । पहिलो चरणको लागि ३१ करोड ७९ लाखमा सभाहल तथा ध्यानकेन्द्र निर्माणको लागि ठेक्का प्रक्रियामा जाने भएपछि बल्ल २०७५ बैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्याश गरियो ।

अहिलेसम्म सभाहल निर्माणको पहिलो चरणको काम सकिएको छ । ३१ करोड लागतमा दोश्रो चरणको काम चलिरहेको छ । २०७८ साल जेठमा हुने बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको उद्घाटन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

पहिलो चरणमा सभाहल, दुई वटा शौचालय, कन्ट्रोल रुमको निर्माण भएको छ । सभाहल भित्र आफैं ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनेछ । अहिले दोश्रो चरणमा मुख्य सभाहलको फिनिसिङ्गको काम भइरहेको छ । रंगरोगन, पर्खाल उठाउने, हेलिप्याड निर्माण, चमेना गृह, बगैंचा, सडक, शौचालयको निर्माणको काम पनि भइरहेको छ ।

सभाहलमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउण्डेशन निर्माण गरिएको । ४० वटा पिलर ठडाएर छानो बनाईएको छ । दोश्रो चरणको काममा रोष्टमबाट गरिने भाषणलाई १६ वटा भाषामा अनुवाद हुने अत्याधुनिक प्रविधि जडान गरिने छ । सभाहलमा ५ हजार क्षमताको भनिए पनि ७ हजार कुर्ची राख्न सकिने र बहुउपयोगी बन्ने छ । सभाहल तथा ध्यान केन्द्र निर्माणसँगै यो स्थल विश्वभरका बौद्धमार्गीका लागि मात्र नभएर अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *