समाज

हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर

हिमालय टिभी
२०७७ चैत २ गते १४:३८
हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर

२ चैत २०७७ झापा । बिहानीपख भालेको डाकसँगै बारीमा सर्‍याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भन्नुभभो, “छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।”

झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आउनुभएको छ पदमबहादुर राईको दम्पती । उहाँहरु नजीकको जलथल जङ्गलबाट गाउँ पसेको जङ्गली हात्तीको आक्रमणबाट बच्न एक महिनाअघि गरेको प्रयास थियो त्यो ।

“त्यसछि ओछ्यानबाट उठेर आँखा मिच्दै आँगनमा पुगेँ”, ६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाउन थाल्नुभयो । “लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थियो । म पूर्वतिर सास नफेरी भागेँ । बीस फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सुँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सुँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।”

पदमबहादुर भन्दै हुनुहुन्थ्यो, “उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगी लाइटले उसको सुँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सुँढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलीको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि मैले फगी लाइट र मुड्कीले उसको सुँढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।”

घरजत्रो भीमकाय जङ्गली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उहाँले कल्पनासम्म गर्नुभएको थिएन । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजीकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बँचेखुँचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताउनुभयो ।

“म जसोतसो पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरु मतिरै आउँदै गरेजस्तो लाग्यो । ‘श्रीमान्लाई हात्तीले मार्‍यो, बचाउ बचाउ’ भन्दै मेरी श्रीमतीले गाउँलेहरुलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरुले जिउँदै देखे, अनि त सबैजना छक्क परे ।” उहाँले त्यो रातको कथा सुनाउनुभयो । श्रीमती पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुग्नुभएको थियो ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीनजनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उहाँ एक्लो हुनुहुन्छ । प्राय: हात्तीले मानिसमाथि आक्रमण गर्दा सुँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तीखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो ।

हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठान्नुभएको उहाँले त्यसपछिका रातहरु पनि ढुक्कले निदाउन सक्नुभएको छैन । हात्तीको आक्रमणमा उहाँको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि चोटहरु दुखिरहने उहाँले बताउनुभयो । उपचारका लागि एक दिन मेची अञ्चल अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनु पर्‍यो ।

मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भन्नुभएको उहाँले सुनाउनुभयो । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ ।

“घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरुले डर देखाउनु भएको छ । रातभरि निद्रा लाग्दैन । उहाँ (पदमबहादुर) पनि राति हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ” पदमबहादुरकी पत्नी पवित्रा राईले भन्नुभयो ।

हात्तीको आक्रमण फेरि नहोस् भनेर उहाँहरुले घरको पहिलो ढोकानेर गणेशको मूर्ति राखेर दैनिक पूजापाठ गर्न थाल्नुभएको छ । “हात्तीलाई मैले सुँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवानसँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरुको सल्लाह मानेर यसो गरेको हुँ ”गणेशको मूर्ति राखेको स्थान देखाउँदै पदमबहादुरले भन्नुभयो ।

उहाँको घरसँगै सडक जोडिएको छ । सडकसँग जलथलको घना चारकोशे जङ्गल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाई हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उहाँको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् ।

पच्चीस वर्षदेखि बसोबास गर्दै आउनु भएको उहाँले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाई हिँड्न चाहनु भएको छैन । “बेचौं भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,” उहाँ भन्नुहुन्छ “लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई” दिनभरि जङ्गलमा आराम गर्ने हात्तीले रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पुर्‍याउने गरेका छन् ।

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बँच्न घर वरिपरि बिजुलीको तार टाँग्नु भएको छ । राति ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । विहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उहाँले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताउनुभयो । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गर्नुभएको उहाँले विहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताउनुभयो ।

स्थानीयवासीका अनुसार चारकोशे जलथल जङ्गलमा तीनवटा हात्ती बस्दै आएका छन् । आहारको खोजीमा गाउँ पसेका बेला तिनले घर भत्काउने र मानिसमाथि हिंसात्मक आक्रमण गर्दै आएका छन् । सरकारले जङ्गल वरिपरि विद्युतीय तारबार गरेको छ । तर त्यसलाई छिचोलेर हात्ती गाउँसम्म सजिलै पुग्ने गरेका छन् । थुप्रै स्थानमा बिग्रिएका विद्युतीय तारबारको समयमै मर्मत सम्भार हुने गरेको छैन ।

एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधवारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकबल, हल्दिबारी र बाह्रदशी पालिकामा जङ्गली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षति पनि बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी रहनुभएको पदमबहादुरको दम्पत्तिलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अचानक मरिएला कि भन्ने त्रास सताएको छ । आफुसँग रहेको एउटा फगी लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उहाँसँग अहिले राति बाहिर हेर्ने उज्यालोको कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उहाँलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।

पदमबहादुर हात्तीको जतिसुकै त्रास भए पनि थातथलो छाडेर नजाने बताउनुहुन्छ । उहाँको ३५ वर्षीय जेठो छोरा किशोर र ३० वर्षीय कान्छो छोरा मनकुमार छन् । जेठो छोरा ब्रेन ट्युमरको बिरामी भएपछि बुहारीले पनि छाडेर गइसकेको र उपचारमा रु १६ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । दुवै छोरा वैदेशिक रोजगारीमा गएर फर्किए पनि सबै कमाई उपचारमै सकिएको उहाँले बताउनुभयो ।

सरकारले हात्तीले मानिसको मृत्यु हुँदा रु १० लाख राहत मृतकका परिवारलाई प्रदान गर्दै आएको छ । झापामा हात्तीको आक्रमण बन्द गर्ने भरपर्दो कुनै प्रबन्ध नहुँदा वर्षेनि मानिसको ज्यान जाने गरेको छ । जङ्गलमा घाँस काट्न जाँदा, बाटोमा हिँड्दामात्र होइन, घरमा राति सुतिरहेका बेलासमेत आक्रमण हुँदा हात्तीका कारण सर्वसाधारणको ज्यान जाने गरेको छ । मृत्युको मुखबाट फुत्किएर बाँचेका पदमबहादुर जस्ता नागरिकका लागि भने सरकारले अलिकति सहानुभूतिस्वरुप आर्थिक सहयोग पुर्‍याउनसमेत सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *