खेलकूद

रुपन्देहीमा बास्केटबल प्रशिक्षण क्याम्प, खेलाडीमा देखियो यस्तो उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते १८:५९
रुपन्देहीमा बास्केटबल प्रशिक्षण क्याम्प, खेलाडीमा देखियो यस्तो उत्साह (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ रुपन्देही । बास्केटबल खेलाडीको स्तरवृद्धिका लागि रुपन्देहीमा प्रशिक्षण क्याम्प सञ्चालन गरिएको छ । क्याम्पमा नयाँ टेक्निकहरु सिक्न पाउदा खेलाडी उत्साही छन् । खेल प्रशिक्षण सँगसँगै कोच क्लिनिक पनि सञ्चालन भएको छ ।

बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी यतिबेला बुटवलमा सञ्चालन भएको क्याम्पमा खेलाडीलाई प्रशिक्षण दिन व्यस्त छन् ।

नकर्मीलाई अन्य प्रशिक्षकहरुले साथ दिइरहेका छन् । राष्ट्रिय प्रशिक्षकहरुबाट यसरी नयाँ तरिका र शैलीहरु सिक्न पाउदा खेलाडी उत्साहित देखिन्छन् । सिकेका तरिकाहरुले आफ्नो खेलमा सुधार आउने उनीहरुको दाबी छ ।

नयाँ शैलीसँगै क्याम्पमा बास्केटबल खेल्दा अपनाउनुपर्ने एकाग्रता, आत्मविश्वास जस्ता मनोविज्ञानका पक्षहरु, रणनीतिक पक्ष र शारीरिक तन्दुरुस्तीका बारेमा पनि सिकाइएको छ ।

पछिल्लो समय बास्केटबलमा युवा पिँढीको आकर्षण बढ्दो छ । त्यहीँ अनुपातमा खेलाडी बढिरहेका छन् । तर खेलको प्रशिक्षण दिने प्रशिक्षकको अभाव छ । त्यसैले यहाँ उत्कृष्ट प्रशिक्षक उत्पादन गर्न कोच क्लिनिक पनि सञ्चालन गरिएको हो ।

बास्केटबलमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पदक नजितेका होइनन् । तर खेलकूद परिषदले बास्केटबललाई बेवास्था गरेको खेलाडीहरुको गुनासो छ । पर्याप्त राष्ट्रिय प्रतियोगिताहरु नहुँदा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन र आवश्यकता अनुसार खेल सुधार गर्न सकेका छैनन् ।

रुपन्देही बास्केटबल संघले आयोजना गरेको २१ दिने क्याम्पमा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका ५६ जना खेलाडी र प्रशिक्षक सहभागी छन् । बिहान र साँझ दुई सिफ्टमा हुने प्रशिक्षणमा बेशिक र एड्भान्सका कोर्स सिकाइएको छ । यस्ता क्याम्पहरुले निरन्तरता पाए खेलाडी उत्पादनसँगै उनीहरुले आफ्नो खेलमा सुधार ल्याउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्