प्रिमियर लीगमा फूलह्याममाथि म्यानचेष्टर सिटीको जित

१ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति सिटीले फूलह्याममाथि ३–० गोलको शानदार जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा जोन स्टोन्स, गेब्रियल जिसस र सर्जियो अग्युरोले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्टोन्सले ४७औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि सिटीका लागि ५६औं मिनेटमा जिसस र ६०औं मिनेटमा अग्युरोले पेनाल्टीमार्फत गोल थपेका थिए ।
जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अग्रता १७ अंकले बढाएको छ । ३० खेलबाट सिटीले ७१ अंक जोड्दा युनाइटेडको २८ खेलबाट ५४ अंक छ ।
प्रिमियर लीग अन्तर्गत नै गएराति क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई १–० र बर्नलीले एभर्टनलाई २१ ले हराउँदा चेल्सी र लिड्स युनाइटेड गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया