समाज

प्रदेश प्रमुख अहिराज कक्षा एकमा पढाउन पुगेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते ६:१६
प्रदेश प्रमुख अहिराज कक्षा एकमा पढाउन पुगेपछि… (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ जनकपुरधाम । प्रदेश २ का प्रमुख डाक्टर राजेश अहिराजले जनकपुरधामको एउटा विद्यालयमा पुगेर कक्षा एकका विद्यार्थीलाई पढाउनुभएको छ । देशकै पुरानो विद्यालयमध्येको एक श्री सरस्वती उच्च माविमा पुगेर उहाँले विद्यार्थीलाई पढाउनुभयो ।

विद्यार्थीलाई यसरी पढाउने प्रदेश २ का प्रमुख डाक्टर राजेश अहिराज हुनुहुन्छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित देशकै पुरानोमध्येको एक श्री सरस्वती उच्च माविमा पुगेर उहाँले बालबालिकालाई पढाउनुभयो ।

विद्यालयमा पढाइने विषयवस्तुबारे बुझ्नुभयो । विद्यालयको पूर्वाधारको अवलोकन गर्नुभयो । विद्यालयको समस्या बुझ्नुभयो ।

२००४ सालमा स्थापना भएको यो विद्यालयमा साढे ८ सय विद्यार्थी छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि विद्यालयको मुख्य भवन प्रयोगविहीन छ । पुनर्निर्माणमा कसैको ध्यान जान सकेको छैन । तीन बिघा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०–०७१ तथा ०७३–०७४ मा नयाँ भवन बनाइए पनि पुरानो ऐतिहासिक भवन विनाश हुने अवस्थामा छ ।

यो त्यही विद्यालय हो जहाँबाट देशका प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मालगायतले पढ्नुभएको थियो । विद्यालयमा पढेका व्यक्ति देशकै ठूला पदमा पुगे पनि विद्यालय सधैं समस्यामा नै रह्यो । प्रदेश प्रमुखले विद्यालयको सबै समस्या बुझेकाले शिक्षकहरुमा केही सहयोग हुने आशा पलाएको छ ।

यो विद्यालयमा यसअघि प्रदेशका मन्त्री पनि पुगेका थिए । उनीहरुले पनि आश्वासन दिए । तर त्यो आश्वासन पूरा भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *