बी डिभिजन लीग फूटबलमा श्री भगवतीसँग ब्वाइज र श्री कुमारीसँग टुसाल पराजित
२५ फागुन २०७७ काठमाडौं । श्री भगवती क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा ब्वाइज युनियन क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा ब्वाइज युनियनलाई २–१ गोलले हराउँदै श्री भगवतीले लीग टुङ्ग्याएको हो । श्री भगवतीको जितमा नवराज गुरुङ र प्रज्वल थापा मगरले १–१ गोल गरे ।
खेलको ४० औं मिनेटमा नवराजको गोलबाट श्री भगवतीले अग्रता लियो । तर दोस्रो हाफमा ब्वाइज युनियन खेलमा फर्कियो । ६३ औं मिनेटमा टंकबहादुर स्याङतानले गोल गर्दै ब्वाइज युनियनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको चार मिनेट पछिनै प्रज्वलले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।
जितसँगै ११ खेलबाट ४ जितका साथ श्री भगवती १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियन भने समान खेलबाट १७ अंकसहित चौंथो स्थानमा छ ।
लीगमा आजै भएको दोस्रो खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४–० गोलले हराएको छ । श्री कुमारीको जितमा आशिष राईले २ तथा सन्तोष कुमार सिंह र विवेक पुनले १–१ गोल गरे ।
खेलको ११ औं मिनेटमै सन्तोषले श्री कुमारीका लागि पहिलो गोल गर्दा २४ औं मिनेटमा विवेकले अग्रता दोब्बर पारे । सन्तुलित प्रदर्शन गरेको श्रीकुमारीका लागि पहिलो हाफको अन्तिममा आशिषले गोल गर्दै ३–० को अग्रता दिलाए ।
आशिषलेनै दोस्रो हाफमा थप एक गोल गरे । ६७ औं मिनेटमा आशिषले डि बक्स बाहिरबाट प्रहार गरेको बल टुसालका गोलकिपरले बचाउन सकेनन् । लगतै गोलको राम्रो अबसर पाएपनि श्री कुमारीले गोल गर्न सकेन । जितसँगै श्री कुमारी ११ खेलबाट १४ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको टुसाल १० औं स्थानमा छ ।
लीगमा भोलि खुमलटार युथ क्लब र बाँसबारी क्लब तथा नयाँ बस्ती युवा क्लब र पुल्चोक स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया