समाज

दाङमा बन्यो भाइरल रोड, झुम्केटाँडीमा टिकटक बनाउनेको भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते १४:५८
दाङमा बन्यो भाइरल रोड, झुम्केटाँडीमा टिकटक बनाउनेको भीड (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ दाङ । पछिल्लो समयमा दाङको झुम्केटाँडीमा चहलपहल बढेको छ। दाङका विभिन्न ठाउँबाट मानिस यहाँ घुम्न जाने गरेका छन् । तर झुम्केटाँडीमा घुम्नुपर्ने त्यस्तो कुनै ठाउँ छैन । तर पनि किन मानिसको भीड लागिरहेको छ त ?

दाङको घोराही ११ झुम्केटाँडी गाउँ । पछिल्ला केही दिनदेखि यो गाउँमा फरक रौनक छ । यहाँ जिल्लाका विभिन्न ठाउँबाट मान्छे पुग्न थालेका छन् ।

मोटरसाइकल वा गाडीमा मान्छे यहाँ पुग्छन् । फोटो खिच्छन् । बाटोमा बसेर नाचेर टिकटक बनाउँछन् । रमाइलो गर्छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडक यही झुम्के डाँडा हुँदै अघि बढेको छ । यो सडक केही दिनअघि कालोपत्रे भएको हो । जब सडक कालोपत्रे भयो यहाँ बाहिरका मान्छे आउन थाले । अलिकति सडक नागबेली परेको छ । त्यै सडक देखेर मान्छे आउन थालेकोमा स्थानीय बासिन्दा दङ्ग भएका छन् ।

यो नागबेली परेको सडक सामाजिक सञ्जालमा भाइरल भयो । त्यसले बाटोको नाम नै भाइरल बाटोमा परिणत भयो । त्यसैले भाइरल बाटो हेर्न भन्दै टाढाटाढाबाट मान्छे यहाँ आउन थाले ।

जति मान्छे आए त्यति नै बाटोको बारेमा प्रचार भयो । त्यसैले मान्छे थपिन थाले ।

घुम्न आउने बढेसँगै स्थानीय बासिन्दाको व्यापार व्यवसाय पनि बढेको छ । यसबाट स्थानीयबासिन्दा दङ्ग छन् ।

तर मान्छेको भीड बढेसँगै दुर्घटनाको जोखिमले स्थानीय बासिन्दा चिन्तित छन् । बीच सडकमै बसेर फोटो भिडियो खिच्ने नागबेली सडकमा जिकज्याक गरेर मोटरसाइकल चलाउनेका कारण दुर्घटनाको जोखिम बढेको छ ।

यो ठाउँमा हुने संभावित दुर्घटना टार्नका लागि भने घुम्न जाने सचेत त हुनुपर्ने नै छ । सँगसँगै स्थानीय बासिन्दाले पनि सावधानी अपनाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *