समाज

मायादेवी सुत्केरी मार्गलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते ६:१८
मायादेवी सुत्केरी मार्गलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ कपिलवस्तु । लुम्बिनीमा सिद्धार्थ गौतमलाई जन्म दिएपछि शिशु बोकेर मायादेवी तिलौराकोट दरबार फर्केको बाटोको अन्वेषण परिचयात्मक भ्रमण गरिएको छ । यो बाटोलाई माता मायादेवी सुत्केरी मार्गका नाममा पर्यटकीय मार्गका रुपमा विकास गर्ने र कपिलवस्तुलाई त्रि(बुद्धस्थलको रुपमा परिचित गराउने योजनाका साथ भ्रमण गरिएको हो । नेपाल पर्यटन बोर्डका पदाधिकारी, पर्यटनविद् र व्यवसायीले लुम्बिनीदेखि तिलौराकोटसम्म अन्वेषण परिचयात्मक भ्रमण गरेका हुन् ।

पछिल्लो समय माता मायादेवी सुत्केरी मार्गको अन्वेषण र विकासमा तदारुकता देखाउन थालिएको छ । यसको प्रचारप्रसार पर्यटन बोर्ड मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा शुरु गर्न बोर्डका पदाधिकारी र सरोकारवालाले यो मार्गमा भ्रमण गरेका हुन् ।

लुम्बिनीबाट भ्रमण शुरु गरेका यात्री पडरिया हुँदै मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुँदै शाक्य वंशिय राजधानी तिलौराकोट पुगेका छन् । उनीहरुले धुलौटे, ग्राभेल र कालोपत्र बाटो हुँदै ५ घण्टामा करिब ३६ किलोमिटर यात्रा गरेका थिए ।

प्रसुती पश्चात सिद्धार्थ गौतमलाई हर्ष बढाईका साथ घर ल्याइएको मार्गको रुपमा परिचित मायादेवी सुत्केरी मार्ग ओझेलमा रहे पनि अब यसलाई प्रचार प्रसार गरिनेछ । र यो एउटा गतिलो पर्यटक आकर्षण गर्ने माध्यम बन्न सक्ने छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र तिलौराकोट दरबार बौद्धमार्गीका लागि तिर्थस्थलकै रुपमा छ । माता मायादेवी सुत्केरी मार्गका बारेमा विश्वभरका बौद्धमार्गीलाईमा बुझाउन सके यसले थप पर्यटक तान्ने छ । त्यसैले भैरहवामा अन्तर्राष्टिय विमानस्थल सञ्चालन पश्चात थप बुद्धिस्ट पर्यटकलाई नेपाल ल्याउन नेपाल पर्यटन बोर्डले प्राथमिकताका साथ काम गरिरहेको छ ।

बुद्धको जीवनी जोडिएका नेपाल र भारत दुबै देशमा बुद्धस्थलको विकासका लागि बुद्ध सर्किटको अवधारणा पनि ल्याइएको छ ।

विश्व बैंकले मायादेवी सुत्केरी भएर पहिलो पटक दरबार फर्केको बाटोलाई मायादेवी ट्रेलका रुपमा विकास गर्न रुचि देखाएर अध्ययन थालेको छ । लुम्बिनीमा बुद्ध जन्मस्थल र तिलौराकोटमा शाक्य राजाको दरबारस्थल मात्र पर्यटकको रोजाईमा पर्ने गरेको छ । मायादेवी सुत्केरी मार्गको विकास भए लुम्बिनीको पर्यटन क्षेत्र विस्तार हुने र पर्यटकको बसाइँ पनि लम्विनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *