समाज

भत्ता नपाएपछि सहयोगको खोजीमा भौतारिँदै राउटे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १६:२३
भत्ता नपाएपछि सहयोगको खोजीमा भौतारिँदै राउटे (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ दाङ । राउटे समुदायले अहिले पनि जंगलमा फिरन्ते जीवन बिताइरहेका छन् । यसरी फिरन्ते जीवन बिताउने राउटेलाई सरकारले लोपुन्मुख समुदाय भनेर भत्ता दिँदै आएको छ । दैलेखको गुराँस गाउँपालिकाको जंगलमा बस्दै आएका ४७ परिवारका १ सय ४६ जना राउटेले चार महिनादेखि भत्ता पाएका छैनन् । त्यसैले उनीहरु सहयोग खोज्दै अन्य जिल्ला पुग्न थालेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत र दैलेखका जंगलमा बस्दै आएका राउटे समुदायका केही व्यक्ति यतिबेला दाङ पुगेका छन् । उनीहरु दाङ पुग्नुको कारण हो– सहयोग संकलन । पोहोर परार पनि दाङको तुल्सीपुर घोराही लगायतका शहरमा पुगेर रकम संकलन गरेका उनीहरु यसपाली पनि त्यही आशमा छन ।

सरकारले राउटे समुदायका व्यक्तिलाई मासिक जनही ३ हजार रुपैयाँ भत्ता दिने गरेको छ । त्यसमा प्रदेश सरकारले पनि २ हजार रुपैयाँ थपिदिने निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

सरकारले दिने ३ हजार रुपैयाँ भत्ता उनीहरुले दैलेखको गुराँस गाउँपालिकाबाट पाउँदै आएका थिए । तर पछिल्लो चार महिना भत्ता पाएका छैनन् । त्यसैले खान समस्या भएपछि उनीहरु सहयोग माग्न शहर पसेका हुन् ।

खान पाएनौँ भनेर राउटे समुदाय माग्दै हिँडेको यो पहिलो अवसर हैन । उनीहरु पोहोर परार पनि देशका विभिन्न शहरमा पुग्ने गरेका थिए । सरकारले नै उनीहरुलाई माग्ने बनाएको राउटेको क्षेत्रमा काम गर्ने संस्थाको आरोप छ ।

भत्ता मात्र नभएर ठोस योजना बनाएर कार्यान्वयन गरे मात्रै उनीहरुलाई रुपान्तरण गर्न सकिन्छ । त्यसका लागि तीनै तहका सरकारले उनीहरुको मौलिकता पनि संरक्षण पनि हुने, श्रम र उत्पादनसँग जोड्ने योजना बनाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *