मेयर कप एक दिवसीय क्रिकेटमा आर्मीसँग मेयर एघार ५ विकेटले पराजित
२४ फागुन २०७७ काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले अर्धशतकीय योगदान दिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा आर्मीले आयोजक टोली काठमाडौं मेयर एघारलाई ५ विकेटले हरायो । जितका लागि पाएको १ सय ५६ रनको सामान्य लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
दोस्रो ओभरमै ओपनर लोकेश बमलाई १ रनमा गुमाएको आर्मीले कमजोर सुरुवात गर्दा ३६ रन बनाउँदा ३ विकेट गुमाईसकेको थियो । तर चौंथो विकेटका लागि सोमपाल कामी र कुशल मल्लले ७२ रनको साझेदारी गर्दा आर्मी जित नजिक पुगेको थियो ।
खेलमा सोमपालले सर्वाधिक ८० रनको योगदान दिए । ५१ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै, कुशलले २३, कप्तान विनोद भण्डारीले नटआउट २० र भिम सार्कीले १६ रन बनाए । बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने र विपिन खत्रीले २९२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर एघारले ४२ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५५ रनमात्र बनाउन सक्यो । काठमाडौंका सौरभ खनालले ४२ र सन्दीप रजालीले ३७ रन बनाउँदा पाँच खेलाडीले खातानै खोल्न सकेनन् ।
काठमाडौंको पाली ध्वस्त पार्ने क्रममा आर्मीका स्पिनर साहब आलमले १ मेडन सहित ४ विकेट लिए । त्यस्तै, तीव्र गतिका बलर जितेन्द्र मुखियाले ३ विकेट लिए । यसअघि पहिलो खेलमा आर्मी एपिएफसँग १ विकेटले हारेको थियो भने काठमाडौंले आफ्नो पहिलो खेलमा बागमतीलाई ९४ रनले हराएको थियो ।
लिगमा भोली एपिएफ र बागमती प्रदेश तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया