समाज

लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १३:५३
लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८० प्रतिशत भन्दा बढि भएको विकास कोषले जनाएको छ । गुरुयोजनाको थप काम सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध हुनसके लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने दाबी गरेको छ ।

पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षमा लुम्बिनी गुरुयोजना सक्ने उद्घोष गर्नुभएको थियो । तर, बजेट अभावले उहाँको उद्घोष पूरा भएन । २०७४ मा फेरि प्रधानमन्त्री भएपछि ओलीले तीन वर्षमा गुरुयोजना सक्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।

तर, ओलीले भनेको समय पूरा हुन लाग्यो । गुरुयोजनाको काम सकिने त के काम अघि बढ्ने शुरु सार छैन । लुम्बिनी विकास कोषका पदाधिकारीहरु भने अबको तीन वर्षभित्र गुरुयोजना सक्नेमा विश्वस्त छन् । गुरुयोजना पूरा गर्न अझै ७ अर्व रुपैयाँ आवश्यक छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाई विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राख्नु भयो ।

सन् १९७० मा नेपालसहित अन्य विभिन्न १४ देशका राजदूत सम्मलित बैठकले उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको थियो । समितिको निर्णय अनुसार सन् १९७८ मा जापानिज आर्किटेक्ट केन्जो टांगेलेटांगेले लुम्बिनीको बृहत्तर गुरुयोजना तयार गर्नुभयो । संयुक्त राष्ट्रसंघको पहलमा तयार गरिएको गुरुयोजना १७ वर्षमा सक्ने भनिए पनि ४ दशक पार गर्दा पनि बृहत्तर गुरुयोजना पूरा भएको छैन ।

गुरुयोजनाले राष्ट्रिय(अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पूरातात्त्विक र धार्मिक महत्त्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बर्द्धन गर्ने लक्ष्य राखेको छ ।

तीन वर्षभित्र गुरुयोजना पूरा हुँदा सौन्दर्यकरणसमेत सम्पन्न गरी लुम्बिनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्य राखेर काम भइरहेको कोषले जनाएको छ । एक हजार १ सय ५५ बिघा क्षेत्रफल जमीन ओगटेको गूरुयोजना सम्पन्न गर्न सरकारले आवश्यक वजेट उपलब्ध गराउन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *