खेलकूद

बी डिभिजन लीग फूटबलमा श्रीकुमारी र बाँसबारी क्लब विजयी

हिमालय टिभी
२०७७ फागुन २३ गते १८:५८
बी डिभिजन लीग फूटबलमा श्रीकुमारी र बाँसबारी क्लब विजयी

२३ फागुन २०७७ काठमाडौं । नयाँ बस्ती युथ क्लबलाई हराउँदै श्रीकुमारी क्लब राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीगको आठौं स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा श्रीकुमारीले नयाँ बस्तीलाई ४–३ गोलले हरायो । श्रीकुमारीको जितमा आशिष राईले २ र पम्बा योल्मु तथा विवेक पुनले १(१ गोल गरे ।

खेलको ११ औं मिनेटमा आशिषको गोलबाट श्रीकुमारीले अग्रता लिए पनि २१ औं मिनेटमा नयाँ बस्तीले खेल बराबरी गर्यो । पहिलो हाफको इन्जुरी समयमा साजन राईको गोलबाट नयाँ बस्तीले अग्रता लियो । तर दोस्रो हाफमा आक्रामक खेलेको श्रीकुमारीका लागि ५७ औं मिनेटमा पम्बाले गोल गरे । ७० औं मिनेटमा श्रीकुमारी गोलकिपर बाधक बन्दा नयाँ बस्तीले पेनाल्टीमार्फत अग्रता लिने मौका गुमायो । लगत्तै काउण्टर अट्याकमा श्रीकुमारी विवेकले गोल गरे ।

खेलको नियमित समयको अन्तिम मिनेटमा आशिषले व्यक्तिगत दोस्रो तथ टोलीका लागि चौंथो गोल गरे । तर इन्जुरी समयमा सुमन राईले डि बक्स बाहिरबाट हिर्काएको लामो प्रहार सिधै गोल हुँदा नयाँ बस्तीले गोल अन्तर घटाउन सफल भयो ।

जितसँगै श्रीकुमारी १० खेलबाट ३ जितका साथ ११ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको नयाँ बस्ती छैटौं स्थानमा छ ।

आजै भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सीखेल युथ क्लबलाई ४–० गोलले हराएको छ । बाँसबारीको जितमा निशान सुनारले २ तथा कमल खवास र अजय राजवंशीले १–१ गोल गरे ।

निशान २१ औं र ६८ औं मिनेटमा गोल गर्दा कमलले ३८ औं र अजयले ६० औं मिनेटमा गोल गरे । जितसँगै १० खेलबाट २१ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा यथावत छ ।

समान खेलबाट ६ अंक जोडेको झम्सीखेल ११ औं स्थानमा छ । २ अंक जोडेको पुल्चोक स्पोर्टस क्लब रेलिगेशन जोनमा छ । लिगमा भोलि सातदोबाटो र मध्यपुर युथ एशोसियसन तथा आरसिटी र पुल्चोकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्