खेलकूद

मेयर कप क्रिकेटमा काठमाडौं मेयर एघार र एपीएफ विजयी

हिमालय टिभी
२०७७ फागुन २३ गते १८:५१
मेयर कप क्रिकेटमा काठमाडौं मेयर एघार र एपीएफ विजयी

२३ फागुन २०७७ काठमाडौं । सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनमा काठमाडौं मेयर एघारले राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै आयोजक मेयर एघारले प्रतियोगितामा शानदार शुरुवात गरेको हो । जितको लागि २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा १ सय ५० रन अलआउट भयो । बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ६० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् ।

मेयर एघारको जितमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि बोलाईएको काठमाडौंले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनायो । कमजोर शुरुवात गरेको काठमाडौंका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले छैटौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीको पाली सम्हालेका थिए ।

सिद्धान्त ३४ रन बनाएर आउट हुँदा सन्दीप रजाली ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि आएका सौरभ खनाल सर्वाधिक ४९ रन बनाएर नटआउट रहे। काठमाडौंका कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्का सहित ४२ रन बनाए । बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिए । यससँगै बागमतीले लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले हारेको थियो ।

आजै भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १ विकेटले हराउँदै एपिएफले लगातार दोस्रो जित हात पारेको छ । पुलिसले दिएको २ सय ५९ रनको विजयी लक्ष्य एपिएफले खेल सकिन एक बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।

राम्रो सुरुवात गरेको एपिएफका लागि ओपनर सुवाष खकुरेलले ५० र सन्दीप जोराले ६१ रनको अर्धशतकीय पाली खेले । त्यस्तै, अर्का ओपनर आसिफ शेखले ४२ रन जोड्दा सुमित महर्जन ३३ रनमा नटआउट रहे । बलिङमा पुलिसका पवन सर्राफले ५ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ५८ रन बनायो । पुलिसका लागि दीपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का हिर्काउँदै १ सय ४० रनको शतकीय इनिङ्गस खेले । उनले ४८ औं ओभरको दोस्रो बलमा अभिनाश बोहरालाई छक्का प्रहार करियरको पहिलो शतक बनाए ।

अभिनाशलेनै इनिङ्सको अन्तिम बलमा दीपेन्द्रलाई विकेट किपर सुवाष खकुरेलबाट क्याच आउट गराए । कमजोर सुरुवात गरेको पुलिसका लागि ओपनर सुनिल धमलाले ३३ र कुशल भुर्तेलले १० रन बनाउँदा पवन शर्राफले ३५ रन जोडे । बलिङतर्फ एपिएफका कप्तान शरद भेषावकरले ३, अभिनाश बोहराले २ र अमर सिंह राउटेला १ विकेट लिए ।

एपिएफले पहिलो खेलमा पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई एक विकेटलेनै हराएको थियो । लिगमा भोली एक खेलमात्र हुनेछ । त्रिवि मैदानमा हुने खेलमा आयोजक मेयर एघार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्