समाज

लिस्ने भिर एकाएक यसरी बन्यो पर्यटकको रोजाइको सेल्फी डाँडा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २३ गते १६:५४
लिस्ने भिर एकाएक यसरी बन्यो पर्यटकको रोजाइको सेल्फी डाँडा (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका– १ ख्याहामा रहेको लिस्ने भिर अर्थात सेल्फी डाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ । एडभेन्चर मन पर्नेका लागि उपयुक्त गन्तब्य र फरक खालको भौगोलिक अवस्थाका कारण यो स्थान पछिल्लो समय पर्यटकको रोजाइको स्थान बनेको हो ।

पाल्पाको रिब्दिकोट गाउँपालिकाको हार्थोक बजारबाट करिब १ घण्टामा पुग्न सकिने लिस्ने भीर अर्थात सेल्फी डाँडाबाट पाल्पा र गुल्मीको संगम स्थल रिडी अर्गेली, स्याङ्जाको दृश्यावलोकन गर्न सकिन्छ । केही समय अघिसम्म मानिसले दुई वटा भिरको बिचमा काठको लिस्नु प्रयोग गरेर आवतजावत गर्ने भएकाले यो भिरको नाम नै लिस्ने भिर राखिएको हो । केही अगाडिसम्म सुनसान सेल्फी डाँडा विस्तारै पर्यटकको रोजाइमा पर्न थालेको छ ।

स्थानीय सरकारले आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि सेल्फी डाँडासम्म पुग्ने बाटो निर्माण, प्रतिक्षालय निर्माणको काम गरिरहेको छ। सेल्फीडाँडा प्याराग्लाइडिङको पनि सम्भावना रहेकाले त्यसको पनि तयारी भइरहेको छ । केवलकारको अवधारण अगाडी बढाउने, कटेजको स्थापना र खानेपानी व्यवस्थापन मिलाउने काम पनि अगाडि बढाउने स्थानीय सरकारको योजना छ ।

सेल्फी डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी गाउँपालिकाले यो वर्ष बजेट नै छुट्याउने गाउँपालिकाको तयारी छ ।

कोरोना कहरपछि आन्तरिक पर्यटनले विस्तारै गति लिइरहेका बेला स्थानीय सरकारले विशेष योजना बनाई यस्ता पर्यटकीय क्षेत्रलाई अघि बढाउनु आवश्यक छ । यसले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पर्यटन विकास र आयआर्जनमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *