खेलकूद

मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफ र पुलिस क्लबको विजयी शुरुवात

हिमालय टिभी
२०७७ फागुन २२ गते १९:०९
मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफ र पुलिस क्लबको विजयी शुरुवात

२२ फागुन २०७७ काठमाडौं । एपिएफ र नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिनका दुबै खेल निकै रोमाञ्चक बनेका थिए ।

एपीएफ क्लबले मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको हो । दुई बल बाँकी रहँदा त्रिभुवन आर्मी क्लबले दिएको २ सय ३६ रनको मध्यम लक्ष्यलाई पूरा एपस्एफले जीतमा बदलेको थियो । अर्को खेलमा बागमती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपीएफले ९ विकेट गुमाएर आर्मीले प्रस्तुत गरेको लक्ष्य भेटाउँदै प्रतियोगितामा विजयी शुरुआत गरेको हो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा एपीएफलाई जिताउनका लागि सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स महत्वपूर्ण रह्यो । सुमित ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोड्दा सुमितले बसन्त रेग्मीसँग ७१ रनको साझेदारी गर्दै एपिएफको इनिङ उकासेका थिए ।

बसन्त अर्धशतक बनाउनबाट एक रनले चुके । ४९ रनमा बसन्त करण केसीको बलमा भीम सार्कीको हातबाट क्याच आउट हुँदा बसन्तले ७९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४९ रन जोड्न सफल भएका थिए । त्यस्तै शंकर रानाले ३३ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाए ।

एपीएफको १६ रन हुँदा चार विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका सुमितसँग शंकरले ५२ रनको साझेदारी गरेका थिए । अमर रौटेलाले ३८ रनको योगदान दिए । आसिफ शेखले १२ र भुवन कार्कीले १० रनको योगदान गर्दा कमल ऐरी ४ र अभिनास बोहरा ७ रनमा जोड्दै जित दिलाएका थिए । आर्मीका बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ७८ बलमा ३ चौका प्रहार गरे । कप्तान विनोद भण्डारीले ४२ रन बनाएर पवेलियन फर्किदा लोकेश बमले ३० रन, सोमपाल कामीले २८ रन बनाए । भिम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए । कुशल मल्लले ११, बिक्रम सोब ४, करण केसी २ र सुशन भारी सुन्य रनमा आउट भए ।

एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । यस्तै अमर रौटेला र भुवन कार्कीले २÷२ विकेट लिए । बसन्त रेग्मी र कमल ऐरीको नाममा १/१ विकेट रह्यो ।
यस जितसँगै एपीएफले गत महिना प्रधानमन्त्री कपमा आर्मीसँग व्यहोरेको हारको बदला लिएको हो । पीएम कपको फाइनलमा आर्मीले एपीएफलाई ३३ रनले हराएको थियो । जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल पुलिसले राष्ट्रिय टोलीका कप्तान रहेको बागमती प्रदेशलाई २ रनले स्तब्ध बनाएको छ । ३८ ओभरमा छोट्याइएको खेलमा पुलिसले पहिलो ब्याटिङ गर्दै दिएको ७३ रनको झिनो बागमतीले पुरा गर्न नसक्दा पुलिसले रोमाञ्चक जित निकालेको हो । बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटिन पुगेको थियो ।

बागमतीले ४३ रन जोड्दा मात्र २ विकेट गुमाएको थियो । तर, थप २७ रन जोड्दा बागमतीले ८ विकेट गुमाएपछि पुलिसले सनसनीपूर्ण जित निकालेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए । आदील खानले १० रन जोड्दा पृथु बास्कोटा ९ रनमा आउट भएका थिए । इशान पाण्डेले ७, आकाश थापाले ४ रन बनाए । विपिन आचार्य ८ रनमा आउट हुँदा अरियो पौडेल १ रनमा अविजित रहे । पारस खड्का, सोनु देवकोटा,नन्दन यादव र राम नरेश गिरि शून्यमा पवेलियन फर्किएका थिए ।

बागमती प्रदेशको इनिङलाई सस्तैमा समेट्न दिपेन्द्र सिंह ऐरील सर्वाधिका ४ विकेट हात पार्दा ललित राजवंशीले ३ तथा सागर ढकालले २ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो । पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाउँदा सुनिल धमला, अनिल शाह र दिलिप नाथले समान १०/१० रनमा समेटिएका थिए ।

पुलिसलाई सस्तैमा समेट्न बागमतीका अरियो पौडेलले ४ विकेट लिए । नन्दन यादवले ३ तथा सोनु देवकोटाले १ विकेट लिए । जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ । बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

५ टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुँदै छ र शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्