बी डिभिजन लीगमा भगवतीसँग खुमलटार र ब्वाइजसँग टुसाल पराजित

Himalaya Television
२०७७ फागुन २२ गते १८:५५

बी डिभिजन लीगमा भगवतीसँग खुमलटार र ब्वाइजसँग टुसाल पराजित

२२ फागुन २०७७ काठमाडौं । उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ ।

ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो ।

शुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सविन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।

जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लीगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

आजकै अर्को खेलमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बूले ७२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मिलनले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत् रहेको छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs