आर्थिक

प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेल परेको टिमुरे ताल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १६:४८
प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेल परेको टिमुरे ताल (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ रेमीमा रहेको होमस्टे र टिमुरे ताल प्रशस्त पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् । तर उचित प्रचारप्रसार र आवश्यक संरक्षण अभावमा भने यी ठाउँ ओझेलमा छन् ।

वरीपरी पहाड, बीचमा पानीको पोखरी । गुल्मीको चन्द्रकोट गाउँपालिकाको टिमुरे ताल पुग्ने जो कोहीको मन लोभिन्छ । तालको जुनसुकै कुनाबाट हेरे पनि माथिको पहाड पानीमुनि देखिन्छ । वर्षायामको समयमा ४ मिटरभन्दा बढी गहिराइमा पानी हुने तालमा अहिले भने २ मिटर जति मात्रै पानी छ ।

ताल नजिकैबाट धौलागिरी, माछापुच्छ्रे लगायतका हिमशृङ्खला, रेसुङ्गाजस्ता पर्यटकीय स्थल अवलोकन गर्न सकिन्छ । टिमुरे ताल नजिकै ६ जना युवा मिलेर होटल संचालन गरेका छन् । युवाले करिब एक करोडको लगानीमा ताल नजिकै रिसोर्ट संचालन गर्ने योजना बनाएका छन् ।

तालभन्दा नजिकै करिब ४ किलोमिटर तल रेमी गाउँमा होमस्टे संचालन गरिएको छ । टिमुरे तालकै नामबाट ‘टिमुरे सामुदायिक होमस्टे’ नामकरण गरिएको होमस्टे गत वर्षको मंसिर ८ गते लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको थियो । ९ घरमा संचालन गरिएको होमस्टेमा एकपटकमा बढीमा ३० जनासम्म पाहुना राख्न सकिन्छ ।

कोरोना महामारीको बेला शून्य रहेको होमस्टेमा महामारीपछि भने बस्न आउने बढेका छन् । तर युवा विदेश पलायन हुने क्रम नरोकिएपछि जनशक्ति अभावमा होमस्टे सञ्चालनमा समस्या भएको छ ।

होमस्टे र टिमुरे तालको प्रवर्द्धनका लागि चन्द्रकोट गाउँपालिका र स्थानीय पूर्वाधार विकास समितिबाट १५ लाख विनियोजन गरी काम भएको छ । पछिल्लो समय टिमुरे ताल सुक्दै गएकाले पानीको मात्रालाई बढाउनका लागि चन्द्रकोट गाउँपालिकाले बृक्षारोपण गर्ने योजना अगाडि सारेको छ ।

समुद्र सतहबाट २२ सय मिटर उचाइमा रहेको टिमुरे तालमा शान्तिपुरबाट पैदल ३ घण्टा र गाडीमा ४५ मिनेटमा सजिलै पुग्न सकिन्छ । टिमुरे ताल र होमस्टेलाई जोड्दै गुरुयोजना बनाएर कार्यान्वयन गर्न सके प्रशस्त रोजगार सिर्जना हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *