समाज

धनकुटाको डरलाग्दो संसारी माई यसरी बन्यो पर्यटकको रोजाइको गन्तब्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १४:३७
धनकुटाको डरलाग्दो संसारी माई यसरी बन्यो पर्यटकको रोजाइको गन्तब्य (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ धनकुटा । धनकुटाको पाख्रिबासस्थित संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । जंगल र झाडीका कारण केही वर्षअघिसम्म मानिसहरु दिउँसै हिंडडुल गर्न डराउने क्षेत्र अहिले भने पाख्रिबासकै मुख्य पर्यटकीय गन्तब्य बनेको हो ।

हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्क परेका रंगीन घरहरु । सँगै रहेका विभिन्न मूर्तिहरु । यो धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार क्षेत्रको परिचय हो । सिमसार क्षेत्रलाई पर्यटकीय रुपमा विकास गरेसँगै पर्यटकको आकर्षण बन्न थालेको छ ।

२०६९ सालमा तत्कालिन जिल्ला विकास समितिले सिमसार क्षेत्रको संरक्षण गर्न दिएको ८५ हजार रुपैयाँले यसको काम शुरु भएको थियो । तर काम गर्दै जाँदा एक राम्रो पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने स्थानीय बासिन्दालाई लाग्यो र विभिन्न दातासँग सहयोग माग्दै काम अघि बढ्यो ।

अहिले करिब ५० लाख रुपैयाँ खर्च भएको छ । २५ रोपनी क्षेत्रफलमा रहेको संसारीमा बगेर खेर जाने पानीलाई बाँध बाँधेर बनाइएका जोर पोखरीमा बोटिङ गर्ने व्यवस्था गरिएको छ । एकै ठाउँमा चिया बगान, ताल, बोटिङ्ग, मिनि चिडिया घरसहित धार्मिक आस्थाका मूर्तिको समेत दर्शन गर्न पाइने भएकाले विभिन्न विद्यालयले विद्यार्थी घुमाउन लैजाने गरेको छ ।

धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि संसारी क्षेत्र पुग्न सकिन्छ । यो पाख्रिबास नगरपालिकाको केन्द्र पाख्रिबास बजारसँगै रहेको छ । पाख्रिबास आफैंमा एक पर्यटकीय स्थल हो । कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्न वर्षौ अघिबाट पर्यटक पाख्रिबास पुग्ने गरेका थिए । अहिले भने यो सिमसार क्षेत्रले समेत पाख्रिबासमा थप पर्यटक तान्न मद्दत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *