राजनीति

विप्लवसँगको सहमतिपछि प्रधानमन्त्री ओलीले गरे प्रचण्ड–नेपाल समूहमाथि यस्तो व्यङ्ग्य

हिमालय टिभी
२०७७ फागुन २१ गते १८:११
विप्लवसँगको सहमतिपछि प्रधानमन्त्री ओलीले गरे प्रचण्ड–नेपाल समूहमाथि यस्तो व्यङ्ग्य

२१ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमतिसँगै नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।

संघीय राजधानी काठमाडौंको राष्ट्रियसभागृहमा आज भएको सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिसँगै नेपालमा अब हिंसात्मक द्वन्द्व छैन भन्ने संदेश दिएको बताउनुभएको हो । उहाँले अघिल्लो बर्ष सिके राउतसँग भएको सहमति स्मरण गर्दै शान्तिपूर्ण युग प्रवेशको अन्तिम किस्ताको रुपमा विप्लवसँगको सहमति भएको बताउनुभयो । राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेको बधाई अनि धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफुले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक बाटो र आन्दोलनको कार्यादिशा कसैले पनि अवलम्बन गरेको छैन । आजको कामको ठूलो उपलब्धि अब नेपालमा हिंसात्मक द्वन्द्व छैन र शान्ति छ । यो सहमतिसँगै नेपाल शान्तिको मापदण्डमा धेरै अगाडि बढेको छ । शान्तिको प्यारामिटर माथि उठाउन सहयोग गरेकोमा विप्लवलाई धन्यवाद दिन चाहन्छु ।”

“केही मान्छेहरु बरबादै पार्न खोज्छन् देशलाई । त्यो उनीहरुको कुरा हो । संसदीय दलको बैठक गर्दैछन् भन्ने सुन्या थेँ । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन । उहाँहरु लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरु देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । उहाँहरु त्यस्तै हो । नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाई फोडेर छोड्ने, भाँडेर छोड्ने, भत्काएर छोड्ने आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने अनि किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनोस् न खाइदिनोस् न भन्न अन्त जाने । अन्त प्रधानमन्त्री खाइदिनोस् भन्न जाने ।

आफ्ना कार्यकर्तालाई पूर्वनिर्धारित कार्यदिशा र बाटोबाट मोड्न सफल भएकोमा पनि उहाँले विप्लवको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आएर ऐतिहासिक र साहसिक काम गरेको भन्दै आफ्नो सम्बोधनभरी पटक पटक नेकपाका महासचिव विप्लवलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सहमति फोर्सफुल नभएको स्पष्ट पार्नुभयो । उहाँले लामो प्रयासपछि मात्रै वार्ता सफल भएको बताउनुभयो । यो रातारात भएको नभई लामो समयसम्मको वार्ताप्रतिको गम्भीरताका कारण भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ यो फोर्स ल्याण्डिङ होइन । क्रयास ल्याण्डिङ पनि होइन । यो सेफ ल्याण्डिङ हो ।”

समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनाहरुलाई पुरा गर्ने अझै प्रवल संभावनाहरुको बाटोमा विप्लवले योगदान पुराएको बताउनुभयो । सहमतिमा उल्लेखित ३ बुँदा नै सहमतिका लागि पर्याप्त भएको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “तीनवटा बुँदा काफी हो । अठार पुराणमा व्यासले २ वटा कुरा भने । धेरै कुराहरुको निष्कर्ष तिनै कुराहरुले भन्छन् । कुनै समस्या आइपरे छलफल र वार्ताबाटै टुंग्याउँछौ । उहाँका नेता कार्यकर्ताहरुलाई प्रक्रिया पुरा गरेर छोड्छौ । छुट्ने सिलसिला त सुरु भइसक्यो । यसले नेपाललाई नयाँ दिन मात्रै होइन नयाँ युगमा प्रवेश गराएको छ । ”

गत वर्ष पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याएको स्मरण गर्दै उहाँले फरक शैली र भाषामा हुर्किएकाहरु एकै ठाउँमा आउँदा भाषा मिलाउन केही समय लागेपनि अन्ततः सबै समृद्ध नेपाल सुखी नेपालीकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफुले ४० बर्ष अगाडि शान्तिपूर्ण राजनीतिको बाटोलाई अंगीकार गरेको स्मरण गर्दै उहाँले विप्लवसँगको सहमति विश्वकै कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक दृष्टान्त बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “आजको उपलब्धिले विश्वकै कम्युनिष्ट आन्दोलनलाई कसरी कम्युनिष्ट आन्दोलनले शान्तिपूर्ण ढंगले समाज परिवर्तनको अगुवाई गर्न सक्छ, नेतृत्व गर्न सक्छ र सार्थक सफलता प्राप्त गर्न सक्छ । विभिन्न प्रकारका प्रतिक्रियावादी शक्तिहरुका जालझेल, तिगडम हमला र दमन सबैलाई पराजित गरेर अगाडि बढ्न सक्छ ? र हामी असल मनसायका साथ अगाडि बढ्यौ भने कसरी नजिकिँदै जान सक्छौ ? त्यो कुराको एउटा दृष्टान्त बनेको छ । हाम्रा सफलताहरु विश्व कम्युनिष्ट आन्दोलनका लागि दृष्टान्त बनेका छन् । ”

राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिको मूलधारमा नेता विप्लव सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल शान्तिको नयाँ युगमा प्रवेश गराएकोमा, त्यसका निम्ति म नेपाल कम्युनिष्ट पार्टी र नेता चन्दलाई धन्यवाद भन्न चाहन्छु । यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिको यस राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । म हार्दिक शुभकामना भन्न चाहन्छु उहाँलाई सफलताको । एउटा खुसीको दिन युग, परिर्वतनको दिन, सफलताको दिन । कसैले पनि नहारेको र सबैले जितेको र देशले जितेको दिनलाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले वार्ता सफलतामा पुराएकोमा दुवैतर्फका वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिनुभयो ।

प्रचण्ड–नेपालप्रति व्यङ्ग्य
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले बहुमतको सरकार भाँडेर किस्तीमा प्रधानमन्त्रीको पद राखेर हिँडेको आरोप लगाउनुभयो । संसदीय दलको नेता आफू भएको तर संसदीय दलको बैठक बोलाएको भन्दै उहाँले कुन दलको हो ? भनी व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “केही मान्छेहरु बरबादै पार्न खोज्छन् देशलाई । त्यो उनीहरुको कुरा हो । संसदीय दलको बैठक गर्दैछन् भन्ने सुन्या थेँ । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन । उहाँहरु लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरु देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । उहाँहरु त्यस्तै हो । नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाई फोडेर छोड्ने, भाँडेर छोड्ने, भत्काएर छोड्ने आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने अनि किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनोस् न खाइदिनोस् न भन्न अन्त जाने । अन्त प्रधानमन्त्री खाइदिनोस् भन्न जाने । न प्रधानमन्त्री । लिइदिनोस् न प्रधानमन्त्री हामी बनाउँछौ नि तपाईलाई लिइदिनोस् न प्रधानमन्त्री । हामी छौ नि तपाईका पछाडि लाग्ने भन्ने । नेतृत्व गर्न छोड्ने नेतृत्व गरिदिनोस् न भन्न जाने । कुन आईडोलजीभित्र पर्छ मलाई थाहा छैन । मैले पढेको मार्क्सवादमा यो पर्दैन ।”

प्रधानमन्त्री ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अनुचित ढंगले प्रस्ताव पनि नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “एउटा भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौ, उसलाई प्रस्ताव राख्यौ भनेर तर हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौ । हामीले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौ राख्दा पनि राख्दैनौ । ”

मुलुकलाई राजनीतिक अस्थिरतातर्फ जान नदिन र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले पुनर्स्थापित गर्ने सर्वोच्चको फैसलासँगै नेपाली राजनीतिमा तमासा शुरु भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले भनेको त देशको राजनीतिलाई अस्थिरतातर्फ धकेलियो । लोकतन्त्रको हुर्मत लिने काम हुन लाग्यो त्यसकारण स्थिरता, स्थायित्वतर्फ लोकतन्त्रको सही अभ्यासतर्फ जाउँ भनेर हामीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थियौ र विघटन गराएका थियौ । अब फिर्ता आएको छ । फिर्ता आएपछिको तमासा शुरु भएको छ फेरी । यो तमासा नेपाली जनताले हेर्दै र भोग्दै जानुपर्ला । ”

सरकार ढाल्ने गम्भीर प्रयास भएको छ
प्रधानमन्त्री ओलीलले आफ्नो नेतृत्वको सरकार ढाल्ने प्रयास तिब्र ढंगले भएको दाबी गर्नुभयो । विगतमा पनि आफ्नो नेतृत्वको सरकार ढाल्ने काम भएको र निर्वाचनपछि आफु बहुमतसाथ सरकारको नेतृत्व गर्न आइपुगेको भन्दै उहाँले फेरि पनि जनताको विश्वास लिएर सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो “यो देशमा हाम्रो पार्टी पनि छ । अहिले सरकार ढाल्ने बहुतै गम्भीर प्रयास भइरहेको छ । उघुमको प्रयास भइरहेको छ । यो त ७३ सालमा पनि ढालेका थियो नि एकपल्ट सरकार । मैले त्यसबेला भनेको थिएँ । हामी जस्केलाबाट होइन, झ्यालबाट, भेन्टीलेसनबाट छिरेर होइन, हामी मुल सडकबाट, मुल ढोकाबाट छिरेर फेरि सरकारमा आउँछौ निर्वाचनको माध्यमबाट । नभन्दै ७४ को निर्वाचनको माध्यमबाट हाइवेबाट हिँडेर सिंहदरबारको मुल गेटको ढोका खोलेर हामी भित्र पस्या हो । ”

उहाँले बैंकेटमा मान्छे जम्मा पारेर आफुखुसी ढंगले अध्यक्ष घोषणा गर्ने काम गरेको भन्दै प्रचण्ड–नेपाल समूहमाथि व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो आदत के छ भने अध्यक्ष हुनुपर्‍यो भने महाधिवेशनमा लडेरै हुने बैंकेटमा मान्छे बोलाएर त्यहाँ म महासचिव भएँ म अध्यक्ष भएँ । त्यो तरिकाले होइन । प्रधानमन्त्री हुनुपर्‍यो भने निर्वाचनको माध्यमबाट चुनिएर छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल तिगडमको हैसियतले होइन, त्यस हैसियतले हामी फर्किन्छौ । ”

केही मान्छेहरुले कम्युनिष्ट आन्दोलनको बद्नाम गर्ने काम गरेपनि अहिलेको सरकार सफल रहेको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको सरकार विल्कुल सफल सरकार हो । विकासका काममा, भ्रष्टाचारविरुद्धका कामहरुमा यसले सफलतापूर्वक अगाडि बढेको छ । “संयुक्तराष्ट्र संघले नेपाललाई अब अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सिफारिस गरिसकेको छ । हामी सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने उद्देश्यमा डटेर लागेका छौ र त्यस अगावै हामीले ती लक्ष्यहरु प्राप्त गर्नेछौ । ”

हाम्रो त १४ बर्ष
कार्यक्रममा प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा आफुले १४ बर्ष जेल बस्नुपरेको भन्दै विप्लवका कार्यकर्ता धर्मेन्द्र बास्तोलालाई छिटै जेलबाट छुटेकोमा बधाई दिनुभयो ।

उहाँले भन्नुभयो “यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो हाम्रो त १४ बर्ष । ”

४८ बर्ष अघि आजकै दिन नयाँ आन्दोलन, नयाँ एकीकरण र नया संकल्प बोकेर हिँडेका ५ जनालाई जेल सार्ने नाममा सुखानी जंगलमा लगेर सबैको एकै स्थानमा हत्या गरिएको घटनाको स्मरण गर्दै उहाँले सबै सहिदप्रति हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिर्वतनमा योगदान पुर्‍याउने क्रममा मृत्यु भएका केही व्यक्तिहरुलाई सरकारले विधिवत ढंगले सहिद घोषणा गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्