एसियन कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित

२० फागुन २०७७ काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित भएको छ ।
छनोटअन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो ।तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित गरेको हो ।
अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ । अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेका छन् ।तर, युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको पुष्टि गर्नुभयो ।स्थगित खेल अब आगामी जुनमा हुनेछ ।छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ ।
जसमा नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ ।
प्रतिक्रिया