खेलकूद

पाहुना टोली अष्ट्रेलियाको उत्कृष्ट पुनरागमन

हिमालय टिभी
२०७७ फागुन १९ गते १८:५०
पाहुना टोली अष्ट्रेलियाको उत्कृष्ट पुनरागमन

१९ फागुन २०७७ वेलिङ्टन । घरेलु टोली न्युजिल्याण्डविरुद्ध पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पाहुना टोली अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको छ ।

वेलिङ्टनमा आज भएको तेस्रो खेल ६४ रनको फराकिलो अन्तरले जित्दै अष्ट्रेलियाले सिरिजमा २९१ ले पुनरागमन गरेको हो । २ सय ९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

दोस्रो ओभरमै ओपनर टिम सिफर्टलाई ४ रनमा गुमाएको न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र देभन कन्वेले तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गर्दै टोलीको पाली सम्हालेका थिए । गुप्टिलले सर्वाधिक ४३ रन बनाउँदा देभन कन्वेले ३८ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सिरिजमा जित्नै पर्ने दबाबमा रहेको अष्ट्रेलियालाई जित दिलाउन स्पिनर एस्टन अगरले ४ ओभरमा ३० रन खर्चेर एक्लै ६ विकेट लिए । यससँगै अगर अन्तराष्ट्रिय ट्वेन्टी ट्वेन्टीको एउटै खेलमा ६ विकेट लिने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन् । समग्रमा भने उनी अन्तराष्ट्रिय ट्वेन्टी ट्वेन्टीमा ६ विकेट लिने चौथो खेलाडी हुन् ।

यसअघि भारतका दीपक चहर, युजभेन्द्र चहल र श्रीलंकाका अजन्था मेन्डिसले ६–६ विकेट लिएका छन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

अष्ट्रेलिया ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रनको योगदान दिए । त्यस्तै, कप्तान आरोन फिन्चले ६९ र युवा ब्याट्म्यान जोश फिलिपेले ४३ रन जोडे । बलिङतर्फ न्युजिल्याण्डका ईस सोधीले २ विकेट लिए ।

सिरिजको पहिलो खेलमा न्युजिल्याण्ड ५३ र दोस्रो खेलमा ४ रनले विजयी भएको थियो । यि दुईबीचको चौथो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्