खेलकूद

बी डिभिजन लीग : खुलमटारसँग ब्वाइज युनियन पराजित, नयाँ बस्ती र टुसाल बराबरी

हिमालय टिभी
२०७७ फागुन १९ गते १८:४४
बी डिभिजन लीग : खुलमटारसँग ब्वाइज युनियन पराजित, नयाँ बस्ती र टुसाल बराबरी

१९ फागुन २०७७ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लीगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ ।

लालितपुर स्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटारले ब्वाइज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लीगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो ।

यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ । स्तरीय खेल देखाएको खुमलटारको जितमा सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे । सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए ।

प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ४३ औं मिनेटमा सविनले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा लिएको २–० को अग्रतालाई कामय राख्दै खेल देखाएको खुमलटारका लागि ७४औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवन्त राखेको हो ।

अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ जोडेर तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

यस अघि आजै भएको पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युथ क्लबले एक÷एक गोलको बराबरी खेल्दा अंक बाँडेका छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँ बस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

३९औं मिनेटमा नयाँ बस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्न पुगे ।

बराबरीसँगै नयाँ बस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँ बस्ती छैटौं स्थानमा रहेको छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्