११३ स्वास्थ्य केन्द्रका लागि १ अर्ब ८ करोड ५३ बजेट निकासा

१९ फागुन २०७७ काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गर्ने भएको छ ।
वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनको भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम स्वीकृत दिएको अर्थमन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । जसअनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।
स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु निर्माणाधिन छन् ।
प्रतिक्रिया