खेलकूद

हाम्रो रंगशालामा मेरो कुर्सी : गौतम बुद्ध क्रिकेट रंगशालाको कुर्सीमा तपाईँको नाम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते २१:००
हाम्रो रंगशालामा मेरो कुर्सी : गौतम बुद्ध क्रिकेट रंगशालाको कुर्सीमा तपाईँको नाम (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । दुई वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भयो । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट रकम जुटाएर भरतपुरमा रंगशाला निर्माणको अभियान सुरु गर्‍यो ।

प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सरिक भएको घोषणा कार्यक्रममा फाउण्डेसनका अध्यक्ष धुर्मुस अर्थात कलाकार सिताराम कट्टेल जति उत्साही हुनुहुन्थ्यो, अहिले उहाँको उत्साह घटेको छ । तर, उहाँले हार मान्नुभएको छैन ।

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि एउटा आधुनिक सुविधा सम्पन्न रंगशालाको टट्कारो आवश्यकता देखियो । हुन त सरकारी निकायले देशका विभिन्न स्थानमा रंगशाला निर्माणको योजना नबनाएका होइनन् । तर, ती योजना कागजमै सिमित हुन थाले ।

यही अवस्थालाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले नमुना नेपाल निर्माण अभियानलाई थाती राखेर रंगशाला निर्माणको काम गर्ने योजना बनायो । त्यो योजना अनुसार भरतपुर महानगरपालिकाको रामपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ३० प्रतिशतभन्दा बढी सकिएको छ, जुन जनताको लगानीबाट बनिरहेको छ ।

तीन अर्व ५५ करोड रुपैयाँको अनुमानित लागतमा अघि बढाइएको परियोजनाका लागि ३२ करोड ३० लाख उठेको छ । तर, अहिलेसम्म ४३ करोडभन्दा बढी खर्च भइसकेको छ ।

चर्चाका पाउनका लागि घोषणा गर्ने तर रकम नदिने प्रबृत्तिका कारण अहिले फाउण्डेसनले एघार करोडभन्दा बढी रकम उधारो तिर्नुपर्ने भइसकेको छ । निर्माणका लागि आवश्यक पर्ने ठूलो बजेट जुटाउन फाउण्डेसनले विभिन्न उपाय अपनाउँदै आएको छ । यसैको एउटा श्रृङ्खला हो, हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा ।

कुर्सीमा आफ्नो नाम लेखाउनका लागि एक लाख रुपैयाँको सहयोग गर्नुपर्नेछ । यसको एउटै उद्धेश्य छ, रंगशालामा अपनत्व । जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध रंगशालामा धेरै सेलेब्रिटीहरुले साथ दिएका छन् ।

रंगशाला निर्माणका लागि लाग्ने कुल रकमको अहिलेसम्म १० प्रतिशत पनि संकलन भइसकेको छैन । दुई वर्षअघि राष्ट्रिय सभागृहमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा हुँदा धुर्मुसमा जुन उत्साह थियो, घोषणा गरेका विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग नपाउँदा त्यो उत्साह सेलाएको छ । तर, पनि यसलाई एक वर्षभित्रमा खेल्न योग्य बनाउने धुर्मुसको दृढता छ र, यो अभियानमा जोडिनका लागि सबैलाई अपिल पनि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्