समाज

कोरोना जोखिम कम भएसँगै पर्यटकीय गतिविधि बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते १८:५३
कोरोना जोखिम कम भएसँगै पर्यटकीय गतिविधि बढ्दै (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ नेपालगञ्ज । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि पर्यटकीय गतिपिधि बढ्न थालेका छन् । पर्यटन व्यवसायीले नयाँ संभावनाको खोजी गर्दै सेवा र सुविधा विस्तार गर्न शुरू गरेका छन् । यसैक्रममा पर्यटन व्यवसायीले नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा र बर्दिया राष्ट्रिय निकुन्जलाई जोड्नका लागि प्याकेजसहित हवाई र पर्यटकीय बस सेवा मिलाएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पश्चिम क्षेत्रका पर्यटकका लागि नेपालगन्जबाट हवाई उडानसहित पोखरा भ्रमण र पोखरा क्षेत्रका पर्यटकका लागि पोखरादेखि नेपालगन्जको हवाई उडान सहित बर्दिया निकुन्जमा जंगल सफारीसहित प्याकेज शुरु गरेको छ ।

आन्तरिक पर्यटकले १५ हजारको प्याकेजमा अब नेपालगन्जबाट दुईतर्फी हवाई उडानसहित ३ दिन पोखराको भ्रमण गर्न सक्नेछन् । त्यसैगरी पोखराका पर्यटकले यतिनै पैसामा नेपालगन्जसम्मको दुईतर्फी हवाई उडानसहित बर्दिया निकुन्ज क्षेत्रमा जंगल सफारीसहित दुर्लभ पाटे बाघ हेर्न पाउने छन् ।

पोखरा र बर्दिया निकुन्जलाई जोडेर टुरिष्ट प्याकेज घोषणा गरेका व्यवसायीले पर्यटकलाई स्तरीय सुवा र सुविधा दिने उद्देश्यले नेपालगन्जदेखि बर्दिया राष्ट्रिय निकुन्जसम्म पर्यटक बस चलाउन थालेका छन् ।

कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसायलाई फेरि पुरानै लयमा फर्काउन नेपालगन्ज उपमहानगरपालिकाले पर्यटन व्यवसायीसँग सहकार्य गरेर नेपालगन्ज–पोखराका चार्टर्ड फ्लाइट र नेपालगन्जदेखि बर्दिया निकुन्जको ठाकुरद्वारासम्म पर्यटकीय बस संचालनमा सहयोग गर्दै आएको छ ।

नेपालका दुई चर्चित पर्यटकीय गन्तव्यबीचको हवाई उडान र पर्यटकीय बस संचालनले पर्यटन व्यवसायी उत्साही छन् । दुर्लभ पाटे बाघ हेर्न आकर्षक गन्तव्य बन्दै गएको बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने ठाकुरद्वारामा नयाँ र सुविधा सम्पन्न होटल रिसोर्ट पनि खुल्न थालेका छन् । तीन दिनदेखि एक हप्तासम्मको प्याकेजमा बर्दिया निकुन्ज घुम्न आउने पर्यटकले पाटेबाघ अवलोकन गर्न सक्ने व्यवसायीले बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुन्ज कर्णाली र बबई नदी किनार र वरपरको ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो प्रसिद्ध हलिवुड अभिनेता लिओनार्दो दि काप्रियोको एक प्रिय गन्तव्य पनि हो । पछिल्लो बाघ गणना अनुसार बर्दिया निकुन्जमा ८७ वटा वयस्क बाघ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *