समाज

दल र जनप्रतिनिधिप्रति आन्दोलनरत वादी समुदायको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते १८:२८
दल र जनप्रतिनिधिप्रति आन्दोलनरत वादी समुदायको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ सुर्खेत । कृषियोग्य जमिन र रोजगारीको माग राखेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री कार्यालय अगाडी बसिरहेका वादी समुदायले राजनीतिक दल र जनप्रतिनिधिप्रति असन्तुष्टि जनाएका छन् । आफूहरुले चुनेका जनप्रतिनिधि र आफूजस्तै अल्पसंख्यक र पिछडिएका समुदायका नेताले समेत आन्दोलनमा चासो नदेखाएको भन्दै आक्रोशित पनि छन् ।

वादी समुदाय सात दिनदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना बसिरहेका छन् । लालाबालासहित बसेका भूमिहीन वादी समुदायको माग कृषियोग्य जमिन देउ भन्ने छ । तर कर्णाली प्रदेशका मुख्ममन्त्री महेन्द्रबहादुर शाहीले माग पूरा गर्न नसक्ने भन्दै हात उठाउनु भएको छ । यसप्रति अधिकारकर्मीको आपत्ति छ ।

प्रदेश सरकारले माग पूरा गर्न नसक्ने बताइसकेको छ । तर मुख्यमन्त्री कार्यालय अगाडी त्रिपाल टाँगेर बसेका वादी समुदाय माग पूरा नभएसम्म पछि नहट्ने अडानमा छन् । कालीकोट र दैलेखबाट आएका उनीहरुको आन्दोलनमा जनताका लागि काम गर्छौ भनेर भाषण दिनेहरुको कुनै चासो छैन । यसले उनीहरुको चित्त दुखेको छ ।

कर्णाली प्रदेश सभामा दलित समूदायका ६ जना सांसद छन् । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, सांसद रातो कामी, दानसिंह परियार, झोवा कामी हुनुहुन्छ । उहाँहरुसँग वादी समुदायको धेरै अपेक्षा थियो । तर अहिले उनीहरु निराश भैसकेका छन् ।

आवासका नाउँमा थोरै जग्गामा सरकारले घर बनाइ दिएको भए पनि जग्गा नहुँदा समस्या भएको उनीहरुको गुनासो छ । त्यसैले जग्गा पाउनुपर्ने उनीहरुको माग छ । माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको अडान छ ।

वादी समुदायको यो आन्दोलन आर्थिकरूपमा आत्मनिर्भर बन्ने प्रयास हो । त्यसैले उनीहरु सरकारको सहयोग खोजिरहेका छन् । सरोकारवाला सबैले यसमा ध्यान दिएर काम गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *