आर्थिक

नेपालले अब आफ्नो बिजुली निर्यात गर्न सक्ने

हिमालय टिभी
२०७७ फागुन १६ गते ९:२१
नेपालले अब आफ्नो बिजुली निर्यात गर्न सक्ने

१६ फागुन २०७७ काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ ।

अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ ।

२०७५ माघ ११ गते भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश दिने सहमति भएको थियो । त्यसका लागि छिट्टै कार्यविधि बनाउने प्रतिबद्धता गरेको भारतले दुई वर्षपछि मात्रै यो दस्तावेज जारी गरेको छ ।

यो कार्यविधिको अभावमा नेपाल विद्युत प्राधिकरणले भारतको पावर एक्सचेन्ज मार्केटमा वर्षायाममा खेर जाँदा पनि बिजुली बेच्न सकिरहेको थिएन । कार्यविधि आएपछि नेपाललाई भारतमा बिजुली बेच्न कानूनी रुपमा सबै बाटो खुला भएको हो ।

नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी नटीपीसी विद्युत ब्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ । तर, समझदारी कार्यान्वयनका लागि कार्यविधिको अभावमा वर्षायाममा नेपालमा दैनिक २ सय मेगावाटसम्म बिजुली खेर जाँदा पनि भारतमा निर्यात गर्न सकिएको थिएन ।

सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *