समाज

नेपालगन्ज विमानस्थलमा अचानक अफ्रातफ्री मच्चिएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते २०:३१
नेपालगन्ज विमानस्थलमा अचानक अफ्रातफ्री मच्चिएपछि… (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ नेपालगञ्ज । नेपालगन्ज विमानस्थलमा पहिलो पटक बृहत आपतकालिन उद्धारको पूर्वअभ्यास गरिएको छ । विमान दुर्घटना भएपछि हुने उद्धार र उपचार थप प्रभावकारी र व्यवस्थित बनाउन विमानस्थल परिसरमा कृत्रिम अभ्यास गरिएको हो । हेरौं कस्तो थियो यो अभ्यास ।

तपाईँ नझुक्किनुहोस् । यहाँ कुनै दुर्घटना भएको हैन । कुनै विमान दुर्घटना भइहालेमा कसरी उद्धार गर्ने भनेर नेपालगञ्ज विमानस्थल परिसरमा गरिएको उद्धार अभ्यास मात्रै हो ।

यो अभ्यासमा विमान दुर्घटना भए कसरी आगो निभाउने भनेर अभ्यास गरियो । आगो निभाइसकेपछि विमानमा रहेका घाइतेलाई यसरी उद्धार गरिँदैछ ।

गम्भीर घाइतेलाई तत्काल अस्पताल पठाउने । सामान्य घाइतेलाई प्राथमिक उपचार गर्ने अभ्यास पनि भइरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले विमानस्थलमा हरेक दुईदुई वर्षमा यस्तो अभ्यास गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार नै नेपालगञ्ज विमानस्थलमा अभ्यास गरिएको हो ।

अभ्यासमा अग्नी नियन्त्रण दस्ता, नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वास्थ्यकर्मी र रेडक्रसका प्रतिनिधि गरी करिब १ सय जना सहभागी भएका छन् ।

यस्ता अभ्यासले विपदका बेला सूचना संकलन, घाइतेको उद्धार र उपचारका काममा हुने कमी कमजोरी हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

पश्चिम नेपालकै प्रमुख यो विमानस्थलबाट काठमाडौं पोखरासहित कर्णाली प्रदेशका दुर्गम पहाडी जिल्लामा दैनिक ५० भन्दा धेरै उडान हुने गरेका छन् । ती उडानबाट दैनिक करिब १३ सय मानिस ओहोर दोहोर गर्छन ।

यस्ता कृत्रिम अभ्यासले विमानस्थलमा कार्यरत कर्मचारी, प्राविधिक तथा सुरक्षाकर्मीलाई सचेत, सजग र अभ्यस्त बनाउन मद्दत पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *