राजनीति

अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन प्रचण्ड–नेपाललाई ओली समूहले दियो चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १८:३१
अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन प्रचण्ड–नेपाललाई ओली समूहले दियो चुनौती (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य इश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ ।

आज नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताउनुभयो । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । केपी ओली संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरुको सामना गर्छन्, तिमी सबैले बुझ । म यहाँहरुलाई के भन्न चाहन्छु भने हामी त्यो कार्यान्वयन गर्छौ भनेको अर्थ के हो भने संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडी बढ्छौ, संसदको सामना गर्छौ । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पार्नुभयो । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उहाँको दाबी छ । सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरुले नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘केपी ओलीले बिचमै छोड्छन् कि, यस खालका कुराहरु तपाईहरुलाई लागेको हुनसक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले म तपाईहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहन्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरुमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ । संसदको सामना गरेर नेपाली जनता समक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरी एकपटक प्रमाणित गर्नुहुन्छ । तर, सडकमा भुस्याहा कुकुर जस्तो कराउनेहरुले नारा लगाउँदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनुहुने छैन । यो चिज म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठुलो फैसला दिने न्यायाधीशहरु जनता भएकाले आफुहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पु¥याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताउनुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई संसद पुनर्स्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’

मन्त्री रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्