मध्यपुर युथ एशोसियसनसँग टुसाल युथ क्लब २–० गोल अन्तरले पराजित
१४ फागुन २०७७ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लीगमा आज सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबलाई हराएको छ।
ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएकाको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्दा अर्को खेलमा मध्यपुरले टुसाल क्लबलाई २–० ले पराजित गरेको हो ।
निकै रोमाञ्चक भएको पहिलो खेलमा सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक/एक गोल गर्दा खुमलटारका सविन केसी र आदिल हमिदले एकरएक गोल फर्काए ।
जित निकालेको सातदोबाटोले ११ औं मिनेटमा दोर्जेको पेनाल्टीबाट अग्रता लिएको थियो । २६औं मिनेटमा खुमलटारका सविनले फ्रिकिकबाट गोल गर्दै खेल १–१ को बराबरी भएको थियो । ४८औं मिनेटमा आदिलले गोल गर्दै अग्रता उल्टाए पनि ६१औं मिनेटमा आशिषले गोल गरेर सातदोबाटोलाई खेलमा फर्काए ।
त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ७४ औं मिनेटमा भुवनले सातदोबाटोका लागि गोल गर्दै अगाडि बढाए । त्यसपछि खुमलटारले खेलमा फर्किन सकेन र सातदोबाटोले रोमाञ्चक जित निकाल्न सफल भयो ।
जितसँगै सातदोबाटोले सम्पन्न ७ खेलबाट ६ खेलमा जित निकालेको छ । शीर्ष स्थानमा रहेको सातदोबाटो १९ अंक भएको छ । अंक गुमाएको खुमलटारले शीर्ष स्थानको टोलीसँग अंक दुरी घटाउने मौका गुमाएको छ । पराजित खुमलटार समान ७ खेलबाट १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत शुक्रबारकै दोस्रो खेलमा मध्यपुरलाई पहिलो स्पष्ट अंक दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक/एक गोल गरे । २३औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई सुरुआती अग्रता दिलाएका थिए ।
६०औं मिनेटमा कैलाशले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याएका थिए । त्यसपछि खेलमा फर्किन संघर्ष गरेको टुसाल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र मध्यपुरले जारी लिगमा पहिलो सफलता निकाल्न सफल भयो ।
जित निकालेको मध्यपुरको ७ खेलबाट ४ अंक भएको छ भने पराजित टुसालको ७ खेलबाट ८ अंक छ ।
‘बी’ लीगमा शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेल पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लब तथा दोस्रो खेल बाँसबारी क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ ।
प्रतिक्रिया