च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी
१३ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी भएका छन् ।
च्याम्पियन्स लीगअन्तर्गत गएराति सिटीले बोरुसिया मोन्चेनग्लाडबाचमाथि २–० को जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा बरनार्डो सिल्वा र गेब्रियल जिससले गोल गरे ।
सिल्वाले २९ औं र जिससले ६५ औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेगमा आगामी मार्च १६ तारिखमा सिटीको मैदानमा हुनेछ ।
यस्तै अर्को खेलमा रियल मड्रिडले एटलान्टामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । अवे मैदानमा रियलका लागि ८६औं मिनेटमा फरल्याण्ड मेन्डीले गरेको गोल नै निर्णायक रह्यो ।
यसअघि खेलको १७औं मिनेटमै रेमो फ्रिउलरले रेड कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेगमा आगामी मार्च १६ तारिखमा रियलको घरेलु मैदानमा खेलिनेछ ।
प्रतिक्रिया