समाज

विद्यार्थी कुट्ने प्रअ प्रहरीको नियन्त्रणमा, कारबाहीको माग गर्दे विद्यार्थी आन्दोलित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते २०:१९
विद्यार्थी कुट्ने प्रअ प्रहरीको नियन्त्रणमा, कारबाहीको माग गर्दे विद्यार्थी आन्दोलित (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाइते एक विद्यार्थी अस्पताल भर्ना भएकी छन । कुटपिटमा संलग्न कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ सिद्धनाथ माविका प्रधानध्यापक खड्क सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी नाराजुलुस गर्ने कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ सिद्धनाथ माविका विद्यार्थी हुन् । प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा नौ मा अध्ययनरत मनिषा नाथलाई निर्घात कुटपिट गरेपछि विद्यार्थी यसरी विरोधमा उत्रिएका हुन् ।

उनीहरुले प्रधानाध्यापक विष्टलाई कारबाही गर्न र पठनपाठन सञ्चालन गर्न माग गरेका छन । मनिषालाई कुटपिट गर्ने प्रधानध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा शिक्षकले पठनपाठन ठप्प पारेका छन । त्यसैले पीडितले न्याय पाउनु पर्ने र स्कूल खुल्नु पर्ने विद्यार्थीको माग छ ।

कबड्डी खेल्न नमानेको भन्दै प्रधानध्यापकले कुट्दा मनिषा अस्पताल नै भर्ना हुनु परेको छ । टाउको र हातमा चोट लागेकी मनिषालाई महाकाली अस्पतालबाट थप उपचारका लागि धनगढी अस्पतालमा पुर्‍याइएको छ ।

प्रधानाध्यापक विष्टले विद्यार्थीलाई कुटेको यो पहिलो घटना हैन । यसअघि पनि प्रधानाध्यापकले पटक पटक कुटपिट गर्ने गरेको विद्यार्थीको गुनासो छ ।

प्रधानाध्यापकले विद्यार्थीलाई मात्रै हैन अभिभावकलाई पनि तनाब दिने गरेको खुलेको छ । सरकारले माध्यामिक तहसम्म निशुल्क शिक्षाको ब्यवस्था गरे पनि यो विद्यालयमा भने चर्को शुल्क असुल्ने गरिएको अभिभावकको गुनासो छ ।

विद्यार्थी संगठनले पनि विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्थानीय सरकारले कुटपिट गर्ने प्रधानाध्यापकलाई कारवाहीका लागि पहल गर्ने आश्वासन दिएको छ ।

गृहकार्य नगरेको, कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुट्ने क्रम रोकिएको छैन । यस्तो घटनामा संलग्नलाई कारवाही गरेर पठन पाठन तत्काल शुरु गर्नुपर्नेतर्फ सरोकारवालाको ध्यान जानु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *