समाज

गाँस, बास र कपास माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १६:५२
गाँस, बास र कपास माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि दैलेख र कालिकोटबाट आएका वादी समुदायले धर्ना दिएका छन् । जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय गएरातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका हुन्।

कालिकोट र दैलेखका वादी समुदायका चार सय २ जनाले सोमबार बेलुकी साढे आठ बजेदेखि मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना शुरू गरेका छन् । उनीहरुको माग छ– खेतीपाती गर्न लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारी देउ । माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको अडान छ ।

खेतीपातीका लागि जमिन नभएको र सीप अनुसार रोजगारी नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

स्थायी पूर्जाको माग गर्दै आएका वादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसोमा चार महिने काखेबालकदेखि ७० वर्षसम्मका वृद्धसम्म खुल्ला चौरमा धर्नामा बसेका छन् । गाउँको सिंहदरबारबाट माग सम्बोधन नहुने देखेपछि तीन दिन पैदल हिंडेर प्रदेशको सिंहदरबारको गेटमा धर्ना दिन आएका हुन् ।

वादी समुदायले धर्ना दिएपछि प्रदेश सरकारले आफूसँग जमिन दिने अधिकार नभए पनि संघ र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने वादी समुदाय अहिले संकटमा छ । परम्परागत पेशाले जीवन धान्न नसकिने भएपछि सुर्खेत, दैलेख र कालिकोटका वादी समुदाय आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *