आर्थिक

पर्यटकको प्रतीक्षामा बुद्ध जन्मस्थल, तीन महिनामा ५७ जना मात्रै तेस्राे मुलुकका पर्यटक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते ६:०७
पर्यटकको प्रतीक्षामा बुद्ध जन्मस्थल, तीन महिनामा ५७ जना मात्रै तेस्राे मुलुकका पर्यटक (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ बुटवल । कोरोना महामारीका कारण ठप्प रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा अझै पर्यटक आगमनमा सुधार आउन सकेको छैन । लुम्बिनी विकास कोषले मंसिर ३ गतेदेखि लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरेको थियो । तर, पर्यटकको आवागमन भने बढ्न सकेको छैन ।

कोरोना महामारीपछि गत वर्ष चैत ११ गतेदेखि मंसिर २ गतेसम्म पर्यटकका लागि लुम्बिनी क्षेत्रको भ्रमण बन्द गरिएको थियो । बुद्ध जन्मस्थल लुम्बिनी स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र हो । आन्तरिक पर्यटक विस्तारै बढ्दै गए पनि यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् ।

पर्यटकका लागि खुल्ला गरिएपछि २०२० को नोभेम्बरमा ३ र डिसेम्बरमा २३ जना गरि २६ जना मात्रै विदेशी पर्यटक यहाँ आएका छन । जबकी २०१९ को नोभेम्बरमा २६ हजार ७ सय ७२ जना र डिसेम्बरमा १७ हजार ८ सय ३२ जना पासर्पोटधारी पर्यटक आएका थिए ।

सन् २०२१ शुरु भएदेखि भने तेस्रो मूलूकका जम्मा ३२ जना मात्रै पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन । भ्रमणका लागि लुम्बिनी क्षेत्र खुल्ला गरिएदेखि ५७ जना मात्रै तेस्रो मूलूकका पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा छ । कोरोना महामारीकै कारण तेस्रो मूलूकमात्रै होइन नेपाल र भारतका पर्यटक समेत लुम्बिनी आएका छैनन ।

२०२० शुरु भएको केहि महिनामै कोरोका कारण लकडाउन भएपछि लुम्बिनीमा पर्यटक आगमन बन्द भएको थियो । लुम्बिनीमा २०२० मा ४५ हजार ४ सय ६९ जना तेस्रो मूलूक, ३७ हजार २ सय ६ भारतीय र १ लाख ९७ हजार २ सय ५२ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका छन ।

सन् २०१९ मा भने तेस्रो मुलुकका १ लाख ७४ हजार १५, भारतीय २ लाख ६ हजार १ सय ७१ र नेपाली ११ लाख ७८ हजार १ सय ४० जनाले लुम्बिनी भ्रमण गरेका थिए । कोरोनाका कारण लुम्बिनीमा नगन्य मात्रै पर्यटक आएको तथ्यांकले देखाउँछ ।

गत वर्ष प्रदेश सरकारले लुम्बिनीमा २० लाख पर्यटक भित्राउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको रुपमा मनाएको थियो । भ्रमण वर्ष सकिन १ महिना अगाडीनै कोरोना महामारीले गर्दा विश्वनै लकडाउन बन्न पुग्यो जसले गर्दा लुम्बिनीमा २० लाख पर्यटक भित्राउने प्रदेश सरकारको योजना सपनामै सीमित हुन पुगेको थियो ।

सरकारले कोरोना विरुद्धको खोप ल्याएर स्थिती सहज बनाउन खोजे पनि विदेशी पर्यटक भने अझै विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *