समाज

कञ्चनपुरको प्यारा ताल वर्षौंदेखि भारतीयको कब्जामा, आफ्नै भूमिमा जान नेपालीलाई रोक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १७:२७
कञ्चनपुरको प्यारा ताल वर्षौंदेखि भारतीयको कब्जामा, आफ्नै भूमिमा जान नेपालीलाई रोक (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ कञ्चनपुर । नेपालको धेरै भूभाग भारतले अतिक्रमण गरेको छ । त्यस्तै अतिक्रमणमा परेको एउटा ठाउँ हो कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बीचफाँटाको प्यारा ताल । कुनै बेला कञ्चनपुर प्रशासनले माछा मार्न ठेक्का लगाउने गरेको प्यारा तालमा अहिले भारतीय सुरक्षाकर्मीले नेपालीलाई जानै दिँदैनन् ।

यो ताल हो कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने प्यारा ताल । यो ताल कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटाको नेपाली भूमिमा पर्छ । यो तालको लम्बाई ५ किलोमिटर छ । २०४१–४२ सालसम्म यो तालको माछा मार्न कञ्चनपुर प्रशासनले ठेक्का लगाउने गरेको थियो ।

यो ताल नेपाल–भारत सीमा स्तम्भ नम्बर १९४ र १९५ बीच भूभागमा छ । यो ताललाई भारतले २०५८ सालदेखि आफ्नो भूमिमा पर्ने दाबी गरिरहेको छ ।

नेपालीलाई ताल छेउछाउमा जानसमेत भारतीय सुरक्षाकर्मीले रोक लगाउँदै आएका छन् ।

पुनर्वासकी सिता जैशीको प्यारा ताल नजिकै खेत छ । उहाँलाई आफ्नो खेतमा जानसमेत डर छ ।

यो प्यारा ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । भारतीय भूमिपट्टीको पानीको कुनै श्रोत छैन । त्यसैले निकुञ्जका जनावरलाई पानी व्यवस्थापन सहज पार्न दुधुवासँगै जोडिएको प्यारा ताललाई भारतले आफ्नो दाबी गर्दै आएको छ ।

यो ताल पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्यसैले भारतले आफ्नो वनजंगलका वन्यजन्तुलाई पानी खुवाउन सहज हुने र पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर प्रशस्त लाभ लिन सकिने देखेर कब्जा जमाएको स्थानीय जनप्रतिनिधिको बुझाइ छ । सरकारले भारतीय हस्तक्षेप रोक्न कूटनीतिक तवरबाट समस्या समाधानमा पहल थालिहाल्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *