आर्थिक

प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र शिलान्यास

हिमालय टिभी
२०७७ फागुन १० गते १७:१५
प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र शिलान्यास

१० फागुन २०७७ कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको छ ।

पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुनेछ ।

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको छ । तर अहिले ४ सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् ।

जसबाट ३० हजारभन्दा बढीले रोजगार पाउने छन् । ९ अर्ब रुपैंया लागतमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो ।

औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो ।

२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका छन् ।

सरकारले यही हप्ता अन्य चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भोलि बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुनेछ ।

यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र मन्त्री भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *