खेलकूद
इटालियन सिरी ए फूटबलमा इन्टर मिलान विजयी
२०७७ फागुन १० गते ८:०६

१० फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ ।
गएराति सम्पन्न मिलान डर्बी अन्तर्गत इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले पराजित गरेको हो । अवे मैदानमा इन्टरको जितमा लौटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए ।
मार्टिनेजले पाँचौं र ५७ औं मिनेटमा गरी दुई गोल गरेका थिए । त्यसपछि लुकाकुले ६६ औं मिनेटमा अर्को गोल थपेका थिए । जितसँगै इन्टरले दोस्रो स्थानको एसी मिलानसँगको अग्रता ४ अंकले बढाएको छ ।
इन्टरको २३ खेलबाट ५३ अंक हुँदा समान खेल खेलेको एसी मिलानको ४९ अंक छ । यस्तै एटलान्टाले नापोलीमाथि ४–२ को जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ ।
त्यस्तै पर्मा र युडिनेसले २२ तथा रोमा र वेनेवेन्तो गोलरहित बराबरीमा रोकिएका छन् ।
प्रतिक्रिया