समाज

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीले समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते ६:०७
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीले समस्या (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ धनकुटा । सरकारी, साझेदारी र सामुदायिक बनको पुराना रुख काट्नका लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको थियो । तर सरकारले वैज्ञानिक व्यवस्थापन कार्यविधि खारेज गरेपछि धनकुटामा पुराना रुख काट्ने योजना अलपत्र परेको छ ।

धनकुटाको ऐतिहासिक सल्लेरी वनका धेरै रुख काट्नैपर्ने अवस्थाका छन् । १९४२ सालमा तात्कालिन राणा प्रशासक वमविक्रम राणाले लगाएको यो सल्लेरी वनमा एक सय ३५ वर्षे पुराना रुख छन् ।

बजारसँगै रहेको र कोशी राजमार्गको आसपासमा रहेको यो वनमा बुढा र ढल्न लागेका रुखका कारण जोखिम छ । ४४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सल्लेरी वन अबको दश वर्षभित्रमा चार चरणमा व्यवस्थापन गर्ने योजना थियो ।

तर एक हेक्टरको काम पनि नसकिँदै माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधिनै खारेज गरिदियो । त्यो कार्यविधि खारेज भएपछि यो वन व्यवस्थापनको काम अलपत्र परेको छ ।

साढे सात सयभन्दा बढी सामुदायिक वन, ३१ वटा साझेदारी र सातवटा चक्ला वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ लागू भएको थियो । जस अनुसार ती वनमा पुराना रुख काट्ने, नयाँ विरुवा लगाउने गरेर वैज्ञानिक रुपमा वन व्यवस्थापनको काम हुँदै आएको थियो । तर यो बीचमा संसदीय समितिले स्थलगत अध्ययन गरेर वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फडानी भइरहेको निष्कर्षसहित वैज्ञानिक वन व्यवस्थापनको काम रोक्न निर्देशन दियो ।

जस अनुसार सरकारले कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनको काम रोकिएको छ । त्यसैले चाँडै नै अर्को कार्यविधि ल्याएर व्यवस्थापन गर्नु पर्ने वन उपभोक्ता समूहको माग छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा केही ठाउँमा अनियमितता भए पनि कतिपय ठाउँमा राम्रै काम भइरहेको थियो । यही बेला सरकारले वन व्यवस्थापन कार्यविधि खारेज गर्‍यो तर विकल्प दिएन । यसले व्यवस्थापन हुनै पर्ने वनको काम रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *