समाज

जग्गा हड्प्ने दाउमा जंगल सत्यानाश, प्रशासन मूकदर्शक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते १६:४६
जग्गा हड्प्ने दाउमा जंगल सत्यानाश, प्रशासन मूकदर्शक (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ दाङ । दाङमा भूमिसम्बन्धी समस्या समाधान आयोग स्थापना भए लगत्तै वन फँडानी भएको छ । वनको जग्गा आफूले भोग चलन गरिरहेको देखाउन र त्यो जग्गाको लालपुर्जा हात पार्नका लागि गाउँलेले एउटा वन पुरै सखाप पारेका छन् ।

तुलसीपुर उपमहानगरपालिका– ८ कटकुँइयाको यो गुह्यडाँडामा जग्गा हात पार्नका लागि सयौँ सालका रुखहरु काटिएको छ । जग्गाको लालपुर्जा पाउने लोभमा गाउँलेले फागुन ४ गते मिलेर यो रुख काटेपछि हाल उजाड बनेको छ । गाउँलेले यो ठाउँ आफूहरुले भोगचलन गर्दै आएको देखाउन साना, ठूला सबै रुख काटेर सखाप पारेका छन् । सार्वजनिक जग्गाकै रुख काटिएको छ ।

राष्ट्रिय वनअन्तर्गत रहेको यो डाँडामा २ सय ४८ सालका रुख काटेर सखाप पारिएको तुलसीपुर सब डिभिजन कार्यालयले जनाएको छ ।

दाङको बबई गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भयो । माघ १४ गते बबई गाउँपालिका–५ रिमखोलीमा जग्गा नापी थालियो । त्यो थाहा पाएर यो जग्गा आफ्नो नाममा नापी गराउनका लागि गाउँलेले रुख काटेको अनुमान छ ।

तुलसीपुर सब डिभिजन कार्यालयले सालका रुख कटानबारे अनुसन्धान गरिहेको र दोषी पत्ता लगाइ कानून अनुसार कारबाही गरिने बताएको छ ।

वन फडानी गर्ने कामलाई सामान्य रुपमा लिएर सरकारले आँखा चिम्लिदिए अन्यन्त्र पनि वन फँडानी हुन सक्छ । यसर्थ दोषीलाई कारबाही गरी फँनाडी रोक्न तत्काल कदम चाल्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *