विराटचोक–घिनाघाट सडक निर्माणको काम रोकियो (भिडियो रिपोर्टसहित)
९ फागुन २०७७ विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट सडक निर्माणको काम रोकिएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा अघि सारिएको यो सडक निर्माण भुक्तानी नपाएको भन्दै ठेकेदारले नै रोकेका हुन्।
२२ किलोमिटर लामो विराटचोक–घिनाघाट सडकलाई तीन खण्डमा विभाजन गरी निर्माणको काम थालिएको थियो । पहिलो खण्ड १० किलोमिटर विराटचोक–नेताचोक र दोश्रो खण्ड नेता चोक–मिलनचोक १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो ।
पहिलो खण्डको सडक निर्माणको काम ६८ करोड ६८ लाख र दोश्रो खण्डको ६९ करोडको लागतमा अघिल्लो आर्थिक बर्षमा ठेक्का लागि दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम शुरु भएको थियो ।
यस्तै तेश्रो खण्ड पुलसहित मिलन चोक घिनाघाट २ किलोमिटरको काम यही बर्ष ठेक्का सम्झौता भई निर्माणको काम शुरु भएको थियो । तर निर्माण कम्पनीले अहिलेसम्म पूरा गरेको सडक निर्माणको कामको भुक्तानी नपाए पछि सडक निर्माणको काम रोकेका छन् ।
सडक निर्माणको जिम्मा पाएको दुबै ठेकेदार कम्पनीलाई काम पुरा गरेको १० करोडभन्दा बढी रकम प्रदेश सरकाले भुक्तानी गर्न बाँकी छ । कोरोनाका कारण सरकारसँग आवश्यक बजेट अभाव हुँदा काम गरेको रकम समयमै भुक्तानी गर्न अप्ठारो भएको प्रदेश सरकाले जनाएको छ । कोरोनाका कारण प्रदेश सरकारले बहुवर्षीय परियोजनाको बजेट कटौती गरी ५० प्रतिशत बजेट मात्र खर्च गर्न अख्तियारी दिएको छ । जसका कारण भुक्तानीमा समस्या भएको हो ।
२०७६ साल भदौमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको सडक १ अर्ब ४० करोडको लगानीमा निर्माण हुन लागेको हो । हाल दुई लेनको सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ ।
हाल दुई लेनको सडकलाई चार लेनमा बिस्तार गर्न लागिएको हो । तर सडक निर्माण पूरा भएको कामको भुक्तानी समेत नपाएपछि ठेकेदारले सडक निर्माणको काम रोकेका हुन् ।
प्रतिक्रिया