समाज

दाङमा यस्तो अचम्मको ढुङ्गाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते १५:२४
दाङमा यस्तो अचम्मको ढुङ्गाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा एउटा अचम्मको ढुङ्गा पर्यटक आकर्षणको केन्द्र भएको छ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने यो ढुङ्गालाई कतिपयले शिवलिङ्गनै मानेर पूजा पनि गर्ने गरेको पाइन्छ । कसैले यसलाई हात्ती ढुङगा भन्छन् भने कसैले यसलाई ठुलो ढुङ्गा भन्छन् । तर स्थानीय तहले यसलाई संरक्षणमा चासो दिएको छैन ।

कतिपयलाई लाग्न सक्छ यो कृत्रिम दृष्य हो । तर यो प्राकृतिक दृश्य नै हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ ड्वाङपुरमा रहेको यो हात्ती ढुंगा पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक बनोटसंगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ । परापुर्वकालमा पाँच पाण्डवहरु यहाँ एक रात बास बसेको किम्बदन्ती पनि छ । यसको लागि हात्ती ढुङ्गा संरक्षणको लागि समिति नै गठन गरेर काम भइरहेको छ ।

प्राकृतिक रुपमा बनेको यो स्थानको बारेमा धेरैलाई जानकारी नै छैन । पहिलेको तुलनामा अहिले वरीपरीको दृष्य परिवर्तन भएको छ । यो बिचमा रहेको ठुलो ढुङ्गाको संरचना भने फेरिएको छैन । यहाँ घुम्न आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी ठूलो ढुङगा अडियो भनेर अचम्म मान्ने गरेका छन् । अनि आन्तरिक पर्यटकले यसलाई संरक्षण गर्न सुझाव दिएका छन् ।

यो स्थान अवलोकनका लागि आन्तरिक पर्यटकहरु आउने गरेका छन् । तर भौतिक पूर्वाधारको अभाव छ । पर्यटकहरुले सडक, खानेपानीलगायतको समस्या रहेको गुनासो गरेपछि स्थानीय क्लबले सडक मर्मत तथा खानेपानीको व्यवस्था गर्न लागेको छ ।

गत वर्षबाट बजेट खर्च गरी संरक्षणमा लागे पनि संरक्षण र विकासमा सन्तोषजनक रुपमा हुन नसकेको स्थानीय सरकारले पनि स्वीकारेको छ ।

प्राकृतिक रुपमा भरीपूर्ण यो ठाउँलाई संरक्षण गरेर प्रचार प्रसार गर्न सके यो ठाउँ चर्चित पर्यटकीय स्थल बन्न सक्छ । त्यसका लागि स्थानीय सरकारले थप पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *