खेलकूद

किन अनसोल्ड रहे सन्दीप लामिछाने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ८ गते ६:०३
किन अनसोल्ड रहे सन्दीप लामिछाने ? (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा तत्कालका लागि सकिएको छ । दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि सन्दीपलाई यो सिजनमा अन्य कुनै टोलीले पनि लिएनन् । कुनै न कुनै टिमले उनीमाथि बोली लगाउने अनुमान गरिएको थियो । तर सन्दीप किन बिकेनन् होला अहिले विभिन्न अनुमान भइरहेका छन् ।

सन् २०१८ मा न्यूनतम मूल्य २० लाख भारुमा तत्कालिन दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि सन्दीपले त्यसयता विश्वका लगभग सबै ठूला फ्रेन्चाईज लिग खेलिसकेका छन् ।

तीन वर्षको आवद्धतापछि यसै सिजन दिल्लीले रिलिज गरेका सन्दीपलाई अन्य टोलीले गतिलो रकममा लैजाने धेरैको अपेक्षा थियो । तर १४ औँ सिजनका लागि भएको मिनी अक्नसमा न्यूनतम मूल्य ४० लाख भारु राखेका उनलाई कुनै पनि टोलीले बोली लगाएनन् ।

सन्दीप नबिकेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । विश्वभरबाट उनका समर्थकदेखी खेल विज्ञले उनलाई यस सिजन टोलीले नलिनुका पछाडी आ आफ्नै तर्क गरिरहेका छन् ।

अष्टे«लियाको बिग बास लिगमा होबार्ट हुरिकेन्सबाट खेल्दै उनी गत महिनामात्र नेपाल फर्किएका थिए । लिगमा उनले कुल ८ खेल खेल्दा ८ विकेट मात्र लिए । तीन खेलमा विकेटविहीन बने ।

पछिल्लो समय लगातार फ्रेन्चाईज लिग खेल्दै आएपनि उनको प्रर्दशन औसत मात्र छ । फ्रेन्चाइज टोली विदेशी कोटाबाट सकेसम्म म्याच विनर खेलाडी लिन चाहन्छन् । त्यसैले पनि सन्दीप यस पटक टोलीको नजरमा नपरेको हुनसक्ने कतिपयको ठम्याइ छ ।

मिनी अक्सन भएका कारण आठवटा टोलीसँग जम्मा ६१ खेलाडीको कोटा थियो । त्यसमा पनि २२ जना मात्र विदेशी खेलाडीको स्थान खाली थियो । तर त्यसका लागि सन्दीप सहित १ सय २५ जना विदेशी खेलाडी सुचीमा थिए ।

अक्सनमा विदेशी खेलाडी तर्फ स्पिनर भन्दा पनि तीव्र गतिका बलर र अलराउण्डरमा धेरै टोलीको नजर थियो । विदेशी कोटाबाट मोइन अली, मुजिब उर रहमान र साकिब अल हसन जस्ता उत्कृष्ट र अनुभवी खेलाडी नै टोलीको नजरमा परे ।

सन्दीपको मुख्य हतियार भनेकै लेगस्पिन र गुगली हो । लगातार लिग खेलिरहेपनि एउटै शैलीका कारण विपक्षी खेलाडीका लागि उनको बलिङ अहिले कम घातक हुन थालेको छ । शायद यसले पनि सन्दीपलाई लिन टोलीले रुची नदेखाएका हुनसक्छन् ।

कतिपयले भने सन्दीपलाई नलिनुमा भारत र नेपालबीच पछिल्लो पटक देखिएको तिक्ततापुर्ण सम्वन्ध पनि कारक रहेको हुनसक्ने अनुमान गरेका छन् । किनकी भारतीयमा रहेको अन्धराष्ट्रवादको प्रभाव खेलमा पनि पर्ने गरेको छ । त्यसकै कारण पाकिस्तानका खेलाडी आइपिएलबाट अहिलेसम्म बाहिर छन् ।

जेसुकै कारण भए पनि सन्दीप तत्कालका लागि आइपिएलबाट वाहिर भएका छन् । तर अक्सनबाट छनोट नहुनु क्षमताका कारण मात्रै नहुन सक्छ । सन्दिप भन्दा निकै कम क्षमताका कतिपय खेलाडीमाथि पनि बोली लागेको छ । अब १५ औ सिजनका लागि हुने अर्को अक्सन अगाडी सन्दीपले आफ्नो क्षमता थप प्रमाणित गर्नुपर्ने चुनौति देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्