आर्थिक

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै रोल्पाली किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते ६:४६
तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै रोल्पाली किसान (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ रोल्पा । रोल्पामा पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारीबाट गाउँघरमै राम्रो आम्दानी हुन थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन देखिएको छ ।

तर रोल्पामा करिब दुई हजार किसान व्यावसायिक तरकारी खेतीमा लागे पनि उनीहरुले समयमा मल, विउ र विषादी नपाउने समस्याले सोचे अनुसार फाइदा लिन सकेका छैनन् ।

रोल्पा, जंकोट माडीचौरकी गउन बुढामगरले ४० वर्षदेखि निरन्तर तरकारी खेती गरिरहनु भएको छ । उहाँले टमाटर, काउली, आलु, खुर्सानी, अदुवालगायत खेती गरी वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । तरकारी खेतीबाट परिवारको खर्च धानिरहेकी बुढामगरले ४० वर्षसम्म पनि सरकारी तथा गैरसरकारी संघ संस्थाले दिने कुनै पनि अनुदान नपाएको गुनासो गर्नुहुन्छ ।

रोल्पामा कोरोना भाइरसका कारण बाहिरबाट आउने तरकारी घटेको छ । जसले गर्दा गाउँमै उत्पादित तरकारीले राम्रो भाउ पाएको छ । कोरोनाका कारण घर फर्केकाहरु पनि तरकारीले भाउ पाएको देखेर खेतीप्रति उत्साही छन् । रोल्पाका किसानले तरकारी खेतीबाट घर खर्च टारेर, बचत समेत गर्दै आएका छन् ।

रोल्पामा मौसमी तथा बेमौसमी दुवै खेती गर्न सकिने ठाउँ भए पनि किसानले परम्परागत शैलीमा नै खेती गरिरहेका छन् । आधुनिक शैलीको कृषि प्रणाली अपनाउन सके उत्पादनमा वृद्धि हुनेमा शंका छैन। कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले किसानलाई विभिन्न अनुदान दिने गरेका छन् ।

सरकारी निकायले किसानलाई अनुदान दिए पनि त्यो अनुदानमा वास्तविक किसान भन्दा पनि पहुँच वाला विचौलिया कै हालीमुहाली हुने गरेको छ । समयमा मल, विऊ, किटनाषक विषादी नपाउने समस्या किसानले झेल्दै आएका छन् । किसानका समस्या समाधान गर्दै कृषिलाई व्यावसायीकरण गर्न सके स्वरोजगार मात्र हैन रोजगारीका लागि विदेश धाउने बाध्यता समेत हट्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *