खेलकूद

दुई खेल अगावै एपीएफ बन्यो महिला लीग फूटबलको च्याम्पियन

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:२८
दुई खेल अगावै एपीएफ बन्यो महिला लीग फूटबलको च्याम्पियन

५ फागुन २०७७ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले आज महिला राष्ट्रिय लीगमा १–१ को बराबरी खेलेसँगै एपीएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ ।

आजै भएको अर्को खेलमा च्याम्पियन एपीएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लीगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपीएफले उपाधि उचाल्ने गणित पूरा भएको हो । यद्यपि आजै भएको खेलमा एपीएफले विराटनगरलाई १–० ले पराजित गर्दा जारी लीगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

राष्ट्रिय महिला लीगको उपाधि उचालेको एपीएफको सुखद् नतिजालाई निरन्तरता दिन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो ।

यसअघि पहिलो खेलमा आर्मीकी पुनम जर्गा मगरले १७औं मिनेटमा आत्मघाती गोल गरे पछि पुलिसले खेलमा शुरुवाती अग्रता पाएको थियो । अमृता जैशीले हेड गरेको बललाई रोक्ने प्रयास गर्दा बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा अग्रता पाएको पुलिसले दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन । ५५औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि आर्मीले स्पष्ट जितका लागि आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेनन् र दुबै टोलीले अंक बाँडे । बराबरीसँगै आर्मीको उपाधि यात्रा समाप्त हुँदा एपिएफले उपाधि उचाल्न सफल भएको थियो ।

लीगमा भोलि वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्