विदेश

म्यानमारकी नेतृ सुकीमाथि सेनाले लगायो अर्को आरोप

हिमालय टिभी
२०७७ फागुन ५ गते ७:५७
म्यानमारकी नेतृ सुकीमाथि सेनाले लगायो अर्को आरोप

५ फागुन २०७७ म्यानमार । म्यानमारमा सेनाले नेतृ आङ सान सु कीमाथि अर्को आरोप लगाएको छ ।

नजरबन्दमा रहेकी सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सू की अब अनिश्चितकालसम्म हिरासतमा रहन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सु कीविरुद्ध प्राकृतिक आपत् व्यवस्थापन ऐनको धारा उल्लंघन गरेको आरोप लगाइएको उनको वकिलको भनाइ छ । उक्त धारा कोरोना महामारीका बेला लकडाउन तोड्नेहरुलाई मुद्दा चलाउन प्रयोग हुन्छ ।

कोरोना प्रोटोकल उल्लंघन गरेमा बढीमा ३ वर्ष कैद हुने प्रावधान रहेपनि सेनाले सत्ता कब्जा गरेसँगै सजाय संहिता परिवर्तन गरेको थियो ।

यसअघि उनीमाथि गैरकानूनी रूपमा संचार सेट राखेको आरोप लगाइएको थियो । पहिलो आरोपको सुनुवाईका लागि भिडियो लिंकमार्फत प्रस्तुत हुने क्रममा उनीमाथि दोस्रो आपराधिक आरोप लगाइएको थियो ।

यही फेब्रुअरी १ का दिन त्यहाँको सेनाले सत्ता कब्जा गर्दै नेतृ सु की, राष्ट्रपति, मन्त्रीसहित वरिष्ठ नेताहरुलाई नजरबन्दमा राखेको छ । गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।

सैन्य कू बारे त्यहाँ सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *